एमालेका सांसद पनि बलत्कारको अभियोगमा विमानस्थलबाटै पक्राउ

नेपालगञ्ज । एमालेका सांसद एवम् पूर्वमन्त्री मोहन बानियाँ नेपालगञ्जमा पक्राउ परेका छन् ।

सोमबार बानियाँलाई नेपालगञ्ज विमानस्थलमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बानियाँलाई बलात्कारको आरोप पक्राउ गरेको प्रहरी भनाइ छ ।

एमालेका सांसद बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

महिलाको उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । बानियाँलाई पक्राउ गर्ने अनुमति प्रहरीले अदालत र संसद सचिवालयबाट लिएको थियो ।

आफूले दिएको २५ लाख रुपियाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

एमालेका नेता समेत रहेका बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।

बानियाँ पक्राउ परेपछि उनको सांसद पद निलम्बनमा परेको छ ।

यसअघि, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई पनि जबरजस्ती करणीको अभियोग लागेपछि सभामुख पद फुत्किएको थियो । महरा लामो समयसम्म थुनामा थिए ।

यद्यपि महराले अदालतबाट बलत्कारको अभियोगमा सफाइ पाएका थिए ।

Published : Monday, 2022 February 28, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया