एमसीसी पास भएको २४ घण्टाभित्र कांग्रेसको यस्तो आयो अडान

काठमाडौं । एमसीसी पारित भएको अर्को दिनपछि नेपाली कांग्रेसले एमसीसी पारित गर्न सहयोग गर्ने सबैलाई धन्यावाद दिएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले सुझबुझका साथ एमसीसीलाई सदनबाट पारित गराएको बताए ।

‘नेपाली कांग्रेस पार्टी सत्य र यथार्थको धरातलमा उभिएरसत्तामा हुँदा र नहुँदा पनि सधैं देश र जनताको हितमा एकनाससंग लागिरहन्छ’, उनले भने, ‘एमसीसीको सन्दर्भमा पनि हाम्रो दृष्टिकोणमा एकरुपता र निरन्तरता रह्यो । अन्ततोगत्वा नेपाली जनताको निर्वाचित संसदले यसलाई अनुमोदन गर्‍यो ।’

उनले भने, ‘एमसीसी सम्झौता संघीय संसदको प्रतिनिधिसभाबाट पारित भएकोमा नेपाली कांग्रेस यस सम्झौता पारित गर्ने पक्षमा मतदान गर्ने सत्तागठबन्धनका राजनीतिक दल र तिनमा आबद्ध सांसदहरूलाई धन्यवाद दिन चाहन्छ ।’

‘यो समग्र प्रक्रियामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहमति जुटाउन गर्नुभएको निरन्तर प्रयास, देखाउनुभएको धैर्यता, अपनाउनुभएको लचकता तथा सुझबुझपूर्ण र परिपक्व निर्णय अत्यन्त प्रशंसनीय रह्यो’, प्रवक्ता डा.महतले भनेका छन् ।

‘एमसीसी पारित गर्ने सम्बन्धमा गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूको सहमतिमा सरकारले ल्याएको ब्याख्यात्मक घोषणाले यसका सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुर्‍याएको छ’, कांग्रेसले भनेको छ, ‘ब्याख्यात्मक घोषणासहित एमसीसी संझौता प्रतिनिधि सभाबाट पारित भएकोमा दातृ राष्ट्र संयुक्त राज्य अमेरिकाले समेत स्वागत गरिसकेको छ ।’

‘अब एमसीसी अनुदान सहयोग अन्तरगतका परियोजनाहरू कार्यान्वयनमा जाने सुनिश्चितता भएको छ’, उनले भनेका छन् ।

‘नेपाल सरकारले संसदमा प्रस्तुत गरको एमसीसी संझौताको प्रस्तावको पक्षमा सरकारमा सम्मिलित दलहरू एक ठाँउमा उभिए । यसका लागि साझेदार दलहरूको नेतृत्वको सराहना गर्दछौं’, डा.महतले भनेका छन् ।

‘एमसीसी संझौता पारित गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल एमाले अन्य कारणले संसदीय प्रक्रियामा सहभागी हुन नसके पनि एमसीसीको पक्षमा नै थियो’, कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘सो पार्टीका अध्यक्ष र अधिकांश नेताले यसका सन्दर्भमा प्रकट गर्नुभएका विचार र अभिव्यक्तिहरूले यो संझौता पारित गर्न र सकारात्मक जनमत सिर्जना गर्न ठूलो सहयोग गरेको छ ।’

‘यो संझौताका बारेमा तथ्यमा आधारित यथार्थ र सत्य कुराहरू सार्वजनिक गरेर आम जनतालाई सु–सूचित गराउन सञ्चारमाध्यमहरूले खेलेको भूमिकाको पनि नेपाली कांग्रेस सराहना गर्दछ’, उनले भनेका छन् ।

‘बौद्धिक र कुटनीतिक क्षेत्रले वैदेशिक मामलामा नेपालको एकै मत प्रकट होस् भन्ने चाहना व्यक्त गरिरहेको बेलामा नेपालको विद्युत प्रशारण लाईन निर्माण र सडक विस्तारको लागि अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)मार्फत प्राप्त हुने ५०० मिलियन डलर अनुदान सहयोग स्वीकार गर्ने र पारित गर्ने विषयमा गठबन्धन दलमाझ सहमति कायम भयो’, कांग्रेसले भनेको छ ।

‘एमसीसीबाट प्राप्त अनुदानको सदुपयोग हुन सकोस् । यस सहयोगमार्फत निर्माण हुने आयोजनाहरू गुणस्तरीय रुपमा निर्धारित समयमा निर्माण हुन सकुन’, उनले भने, ‘यसले नेपालको विकास प्रशासनलाई थप पारदर्शी र उत्तरदायी बनाउन सघाउन सकोस् ।’

डा.महतले भनेका छन्, ‘संसदबाट पारित भएकोले यसको अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी संसदमा पनि आएको छ ।’
‘एमसीसी संझौता नेपालमा आएका विकास सहयोगको मानक बन्ने हाम्रो विश्वास छ’, उनले भनेका छन् ।

‘नेपालको विकास प्रयासमा सघाउँदै आएका दातृ निकाय तथा मित्र राष्ट्रहरूलाई निरन्तर सहयोगको लागि धन्यवाद दिंदै हाम्रो आर्थिक तथा सामाजिक विकासमा थप सहयोग गर्न पनि हामी अनुरोध गर्दछौं’, डा.महतले भनेका छन् ।

‘एमसीसी सन्दर्भमा अझै बाँकी भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा नेपाली कांग्रेस निरन्तर लागिरहनेछ’, प्रवक्ता डा.महतले भनेका छन् ।

Published : Monday, 2022 February 28, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया