संकटका बेला एक ठाउँ देखिए देउवासहितका यी नेताहरू

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ४ दलीय गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा आइतबार बिहान बसेको प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो ।

कांग्रेसका नेता रामचन्द्र पौडेलले भने, ‘एमसीसी विशुद्ध आर्थिक सहयोग हो । यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन ।

‘नेपालको संविधानभन्दा माथि छैन भने व्याख्यात्मक टिप्पणीसहित पारित हुन्छ’, पौडेलले भने, ‘आजै प्रतिनिधि सभाका दुई बैठक बसेर एमसीसी पारित हुन्छ ।’

उनले अहिलेसम्म उठेका सबै आशंकाका विषयलाई समेटेर व्याख्यात्मक घोषणा तयार पारिएको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । समय नभएको भन्दै आजै पारित गर्ने निर्णय भएको छ ।

माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

गठबन्धनले एमसीसी पास हुँदै गर्दा प्रमुख प्रतिपक्षी एमालेले पनि साथ दिने विश्वास व्यक्त गरेको छ ।

एमसीसीका पक्षमा मत प्रकट नगरे एमालेमाथि नैतिक प्रश्न उठ्ने पौडेलको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलाको उपस्थिति थियो ।

Published : Sunday, 2022 February 27, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया