अहँकारबाट टसकोमस भएन एमाले, बालकोटबाट रित्तै फर्किए कांग्रेस नेताहरू

काठमाडौं । नेपाली कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भएको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ ।

शनिबार एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निवास बालकोटमा बसेको बैठकमा संसदको गतिरोध हटाउने र एमसीसी पारित गर्ने विषयमा छलफल भएको हो । एमालेले आफ्नो पुरानै अडान राखेर टसकोमस नभएपछि कांग्रेस र एमालेबीच सहमति हुन सकेन ।

कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो जुन कुरा भएको थियो आज पनि त्यही कुरा भएको बताए ।

‘हामीले उहाँहरूलाई संसद सुचारू गरौं’, उनले भने, ‘एमसीसीलाई राष्ट्रिय सहमितका साथ अनुमोदनको दिशामा लगेर मुलुक महत्वपूर्ण विषयमा एक ठाउँमा उभिन्छ भन्ने सन्देश दिउँ भनेर प्रस्ताव गर्‍यौं । उहाँहरूले पुरानै कुरा दोहोर्‍याउनु भएको छ ।’

‘हामीलाई प्रतिनिधि सभाको द्वार खुलेको छैन । त्यो खुलाउन तपाईंहरूले काम गर्नुस्’, कार्कीले भने, ‘तपाईंहरूको दायित्व हो भनेर भन्नुभयो ।’

उनले भने, ‘हामीले पनि तपाईंहरूको पनि दायित्व हो । संसद जीवन्त बनाउने । यो दायित्वलाई परिस्थितिको मूल्यांकन गरेर अगाडि बढौं भनेका छौं । आज पनि छलफल त्यति मै केन्द्रित रह्यो ।’

उनले जुन सकारात्मक कुरा सुनाउला भन्ने लागेको थियो त्यो सुनाउन नपाएको बताए ।

‘तपाईंहरूलाई नयाँ खबर भनौंला भन्नेमा थिएँ तर संसद सुचारू हुन्छ’, कार्कीले भने, ‘संसदमा छलफल हुन्छ भन्ने जुन कुरा भनेको थिएँ । त्यो अहिले भन्न सकिनँ ।’

एमालेका महासचिव शंकर पोखरेलले आफूहरूको पुरानै माग यथावत राखिएको बताए । उनले माग पूरा नहुँदासम्म संसदको अबरोध खोल्न नसकिने बताए ।

बैठकमा कांग्रेसबाट उप–सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कार्की तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उप–महासचिव विष्णु रिमाल सहभागी थिए ।

Published : Saturday, 2022 February 26, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया