ओलीको रुखो कुरा सुनेर कांग्रेस नेताहरू निरास, एमालेको अहँकार बढ्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरू भएको वार्तामा ठोस सहमतिविना सकिएको छ ।

शुक्रबार साँझ भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू पुगेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग एमसीसीलाई सर्वसम्मत रुपमा पारित गर्न सहयोगका लागि आग्रह गरेका थिए ।

ओलीले आफूहरूका माग पूरा नहुँदासम्म सदन खुल्न नसक्ने र एमसीसीलाई सहयोग गर्न पनि नसकिने जवाफ दिएका छन् ।

एमालेका नेता प्रदीप ज्ञवालीले आफूहरूका माग पूरा नहुँदासम्म एमसीसीमा सहयोग गर्न नसकिने जवाफ दिएको बताए ।

नेता ज्ञवालीले एमालेले कारबाही गरेका १४ जना सांसदलाई हटाएको सूचना संसद सचिवालयबाट जारी हुनुपर्ने अडान राखेको बताए ।

बैठकमा प्रधानमन्त्रीका साथै कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो ।

एमालेबाट अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल, नेता प्रदीप ज्ञवालीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गराउन असहयोग गरिरहेका बेला प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा सदन खोलेर पास गराउन चाहेका छन् ।

सत्तारुढ गठबन्धनभित्र देखिएको विभाजनबाट खुसी भएको एमालेले बालकोट बैठकमा अहँकार देखाएको चर्चा छ ।

Published : Friday, 2022 February 25, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया