देउवा–दाहालबीच सकारात्मक कुरा, गठबन्धन नटुट्नेमा आशा पलायो

काठमाडौं । सत्ता गठबन्धन संकटमा परेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो । उनीहरूका बीच सत्ता गठबन्धनलाई बचाएर एमसिसीलाई पारित गर्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि हात अगाडि बढाउने प्रयास गरेका बेला देउवासँग दाहालले भेट गरेर गठबन्धन बचाउन आग्रह गरेको स्रोतको भनाइ छ ।

देउवालाई भेट्न जानुभन्दा अगाडि अध्यक्ष दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । अध्यक्ष नेपालले एमसिसीलाई पारित गर्न सहयोग गरेर भए पनि गठबन्धन बचाउन प्रस्ताव गरेका छन् ।

देउवा र दाहालले गठबन्धनलाई तोड्न नहुनेमा सैद्धान्तिक सहमति जनाएका छन् । एमसिसीलाई बीचको बाटोबाट पारित गर्नेबारेमा पनि कुरा भएको छ ।

देउवा र दाहालको भेटमा नेपाली कांग्रेसका नेता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता एवम् अर्थमन्त्री जनादर्न शर्माको पनि सहभागिता रहेको थियो ।

Published : Friday, 2022 February 25, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया