प्रचण्डको यस्तो तयारी थाहा पाएपछि देउवाले असफल बनाइदिए, माओवादीको दशा बिग्रियो

काठमाडौं । एमसीसीलाई फेल बनाउने गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना बनाएको थाहा पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको बिहीबारको बैठक स्थगित गराएको रहस्य बाहिर आएको छ ।

प्रधानमन्त्री देउवाले संसदमा एमसीसी बिचाराधीन रहेको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि परामर्श आवश्यक रहेको भन्दै संसद बैठक सूचना टाँस गरेर रोक्न आग्रह गरेका थिए ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद सूचानामार्फत स्थगित गरेका थिए ।

प्रचण्डको आग्रहमा सभामुख सापकोटाले एमसीसी सम्झौता संसदमा छलफलका लागि पेस गर्दा नै मत विभाजन गर्ने बुझेपछि प्रतिनिधिसभा बैठक स्थगन भएको खुलेको छ । माओवादीले आफ्ना २८ जना सांसदहरूलाई संसदको बैठकमा उभिएर मत विभाजनको माग गर्न तयारी अवस्थामा राखेको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख सापकोटाले प्रधानमन्त्री देउवाले विपक्षी दलसँग छलफलका लागि भन्दै शुक्रबारसम्म बैठक स्थगित गरिदिन आग्रह गरेको जानकारी गराएका थिए ।

अन्तिम समयमा त्यसै बैठक स्थगित भएको होइन । सभामुखले छलफलको प्रस्तावमा मतविभाजन गर्न लागेका थिए । छलफल नै गर्न नदिने माओवादी केन्द्रको नीति थियो ।

पाँच दलको सहयोगमा गत असारमा अत्यधिक बहुमतसहित गठबन्धन सरकारको प्रधानमन्त्री बनेका देउवा सरकारले ल्याएको प्रस्तावमा गठबन्धन दलबाटै असहयोग हुने प्रष्ट भएपछि साझेदार दलहरूसँग रुष्ट बनेका छन् ।

माओवादीका अध्यक्ष दाहालको अस्थिर नीति र व्यवहारबाट प्रधानमन्त्री देउवा दिक्क बनेका छन् ।

सभामुख सापकोटाले एमसीसीलाई असफल बनाउन माओवादीसँग मिलेर काम गर्दैछन् भन्ने कुरा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेस सचेतक पुष्पा भुसाललगायतलाई पनि थाहा थिएन ।

उनीहरूले कार्यव्यवस्था परामर्श समितिमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा बोल्न चाहने सांसदहरूलाई ५–५ मिनेटको समय उपलब्ध गराउन सहमति जनाएका थिए ।

दाहाल र नारायणकाजी श्रेष्ठको सुझावबमोजिम प्रतिनिधिसभाको हालको अंकगणितमा सरकारले प्रस्तुत गर्ने छलफलको प्रस्तावमै मतविभाजन गर्न लगाएर बहुमतले छलफलको प्रस्ताव नै अस्वीकृत गर्ने तयारी भएको थियो ।

दाहालको त्यो नीति थाहा पाएपछि देउवाले संसदको बैठक स्थगित गराएर विपक्षीसँग छलफल थालेको स्रोतले जनाएको छ ।

हाल प्रतिनिधिसभामा २७१ सदस्य बहाल छन् । त्यसमध्ये एमालेका ९८, नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, नेकपा (एकीकृत समाजवादी)का २३, जनता समाजवादी पार्टी (जसपा)का २१, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राप्रपा, नेमकिपा, स्वतन्त्र र राष्ट्रिय जनमोर्चा १–१ सांसद छन् ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Published : Thursday, 2022 February 24, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया