आलेका दुई मान्छेविरुद्ध अख्तियारमा उजुरी, माधव नेपालका लागि असुली धन्दा चलाउँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका पछिल्लो समय खराब चलिरहेका छन् ।

आलेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विरोध गरेर सडकमा रक्तपात निम्ताउन खोजेको छ । आलेको पार्टीले सुरक्षाकर्मीहरूलाई आक्रमण गरेर घाइते समेत बनाएको छ ।

यस्तो अवस्थामा आलेको मन्त्री पद जतिबेला पनि फुत्किन सक्छ । एमसीसीलाई लिएर आलेको पार्टी सरकारबाट बाहिरियो भने आश्चर्य नलिँदा पनि हुन्छ ।

आलेले गरेका नियुक्ति एकपछि अर्को विवादमा परेका छन् । मन्त्री आलेले जहाँ–जहाँ हात हालेका छन्, त्यहाँ–त्यहाँ विवाद निम्तिएको छ ।

मन्त्री आलेले पर्यटन बोर्डको सदस्यमा दुई जनालाई नियुक्ति दिलाउँदा पनि विवादमा तानिएका छन् ।

बैंक डकैतीदेखि अवैध लागूऔषध कारोबारमा सजाय भोगेका लीला लामा भन्ने टासी लामालाई गरिएको बोर्ड सदस्य नियुक्तिमा मन्त्री आले विवादमा तानिएका हुन् ।

त्यसअघि मन्त्री आले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा १२औं तहका ६ जना वरिष्ठ कर्मचारी हुँदाहुँदै ११औं तहका कनिष्ठ प्रदीप अधिकारीलाई नियुक्ति गरेपछि विवादमा तानिएका थिए ।

अधिकारीलाई नियुक्ति गर्दा मन्त्री आलेले विमानस्थलबाट डलर तस्करी गर्दागर्दै पक्राउ परेका सुवास श्रेष्ठमार्फत आर्थिक चलखेल गरेको खुलेपछि नेकपा (एकीकृत समाजवादी) पार्टीभित्रै खोजीको विषय बनेको छ ।

अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवा विमानस्थलसम्मको निर्माणमा अर्बौं भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् ।

अधिकारी र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । अधिकारी महानिर्देशक बनेसँगै श्रेष्ठलाई पुनः अन्तर्राष्ट्रिय टर्मिनल भवनको स्टेराइल कक्षमा कफीसप र रेष्टुरेन्ट सञ्चालन गर्न दिने गरी समिति नै बनाएर सम्झौता गर्न लागिएको छ ।

विमानस्थलमा डलर तस्करी गर्दा गर्दै पक्राउ परेका श्रेष्ठको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदा मन्त्री आले र अधिकारीको मिलेमतोमा श्रेष्ठलाई पुनः विमानस्थलबाटै डलर तस्करी गर्न छुट मिल्ने गरी पसल सञ्चालनको अनुमति दिन लागिएको छ ।

यो प्रकरणमा अख्तियारले छानविन गरिरहेको छ । श्रेष्ठले अधिकारीलाई महानिर्देशक बनाउँदा मन्त्री आलेकहाँ पुगेर आर्थिक चलखेल गरेका थिए । क्यासिनोको वक्यौता रकम उठाएको ढ्वाँङ पिट्ने आलेले विमानस्थलमा स्टे अर्डरका भरमा दर्जनौ कफीसप सञ्चालन गरी बक्यौता नतिर्ने श्रेष्ठलाई भने काखी च्यापेका छन् ।

श्रेष्ठले नियम विपरित कफीसप सञ्चालन गरिरहँदा समेत राज्यका कुनै पनि निकायले बन्द गर्ने आँट गर्न सकेका छैनन् ।

आलेकै गैरजिम्मेवारी र तस्कर पोस्ने व्यवहारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करको चलखेल समेत बढेको छ । विदेशबाट अहिले दिनहुँ किलोका किलो सुन तस्करी भइरहँदा समेत मन्त्री आलेको ध्यान जान सकेको छैन ।

नेपाल वायुसेवा निगम हिमालयन एयरलाइन्सलाई विक्री गर्न सम्पत्तिको अति कम मूल्यांकन गरेको आरोपमा महाप्रवन्धक डिमप्रकाश पौडेल, बोर्ड सदस्य फुर ग्याल्जेन शेर्पा र इश्वरी पौडेलको छानविन गर्न मन्त्रालयका उप–सचिव टेकनारायण पौडेलको संयोजकत्वमा राजेशनाथ उप्रेतीसहितको ३ सदस्यीय कमिटी बनेको थियो ।

कमिटीले काम गरिरहेका बेला शेर्पा र पौडेलले चलखेल गरी उप्रेतीलाई पर्यटन र होटल व्यवस्थापन नेपाल एकेडेमीको कार्यकारी निर्देशकमा पठाइयो ।

उप्रेती एकेडेमीमा नियुक्ति भएपछि छानविन समिति अलपत्र परेको छ । उप्रेतीको ठाउँमा अर्को सदस्यको नियुक्ति हुन सकेको छैन । निगमको छानविन गर्ने कुरा पनि अब हराएको छ । निगमको चल–अचल सम्पत्ति एक खर्बभन्दा बढी भएपनि कम मूल्यांकन गर्न लगाई हिमालयन एयरलाइन्सलाई विक्री गरी २०औं करोड कुम्ल्याउने दाउमा महाप्रवन्धक डिमप्रकाश पौडेल र सदस्यद्वय शेर्पा तथा पौडेल थिए ।

आलेले निगमको सम्पत्ति कौडीको मूल्यमा विक्री गर्न खोज्नेलाई कारबाही गर्ने भनेर बनाएको छानविन समिति अलपत्र परेको छ ।

पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीलाई कानून विपरीत हटाउन खोजेपछि मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपाने नराम्रोसँग फसेका छन् । एने, कानून हातमा लिएर मन्त्री आले र सचिव न्यौपानेले जथाभावी गरेपछि रेग्मीलाई सर्वोच्चले निलम्बन नगर्न आदेश दिएको छ ।

पशुपति क्षेत्र विकास कोषको समस्या पनि हल हुन सकेको छैन । भारतले बनाइदिएको धर्मशालामा कानून मिचेर बतास समूह पसेको भन्दै हटाएका मन्त्री आलेले गौशालाको धर्मशाला कब्जा गरेको माडवाडी सेवा समितिलाई भने आर्थिक सहयोग गर्ने वचन दिएका छन् ।

मन्त्री आले यो विषयमा पनि विवादमा तानिएका छन् । पछिल्लो सयम त उनले अपशब्द बोलेको अडियो समेत बाहिरिएको थियो । यसरी पटक–पटक विवादमा तानिएका मन्त्री आलेलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने फिर्ता बोलाउने आँट गरेका छैनन् ।

मन्त्री आलेले मन्त्रालयमा बसेर पार्टीलाई चन्दा र आर्थिक सहयोग माग्ने गरेको आरोप छ । सो रकम मन्त्री आलेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालसम्म पुर्‍याउने गरेको चर्चा मन्त्रालयमा छ ।

मन्त्री आलेका पछिल्ला हर्कत र गतिविधिहरू सबै कानून विपरीतका भएपछि विष्फोट हुने अवस्थामा पुगेको छ ।

Published : Tuesday, 2022 February 22, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया