देउवा र ओलीबीच भेटवार्ता, एमसीसी पास गर्न सकारात्मक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच एमसीसीका विषयमा परामर्श भएको हो । ओलीले आफूहरूका माग पूरा भएमा एमसीसी पारित गर्न सहयोग गर्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीसँग एमसीसी पारित गर्न सहयोगका लागि आग्रह गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूले एमालेसँग सत्तारुढ गठबन्धनभित्रबाटै एमसीसीमा सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो’, एमालेद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

‘हाम्रा पार्टी अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरू राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’, एमालेद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री देउवासँगको भेटमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उप–महासचिव विष्णु रिमाल सहभागी थिए ।

नेपाली कांग्रेसबाट उप–सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको उपस्थिति रहेको थियो ।

सरकारमा सहभागी भएका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विरोध गरेर सडकमा कार्यकर्ता उतारेका छन् । माओवादी र नेकपा (एस)को हर्कतको विरोध भइरहेको छ ।

Published : Tuesday, 2022 February 22, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया