बागमती कांग्रेसले एमसीसीबारे जनतालाई बुझाउने, निर्वाचनको तयारी शुरू

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले एमसीसीलाई बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको बागमती कांग्रेसको कार्यसमिति बैठकले एमसिसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय तहमा पठाइ जनतालाई बुझाउने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा भएको मत संख्यासहितको तथ्याङ्क सङ्कलन गर्ने निर्णय पनि भएको छ ।

प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय तहमा पठाउने निर्णय गरेको सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिएका छन् ।

जगदीशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ ।

बागमती कांग्रेसले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यको मासिक लेवीसमेत तोकेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको छ ।

प्रदेश कार्यालय हेटौँडा र सम्पर्क कार्यालय काठमाडौंमा नियमित सञ्चालन गर्ने, पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ ।

प्रदेश सदस्यको मर्यादाक्रम मिलाउन महामन्त्री कञ्चनचन्द्र बादे संयोजक र सह–महामन्त्री जीवन डङ्गोल एवम् ऋषिराम घिमिरेलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सभापति ईन्द्रबहादुर बानियाँ, पदाधिकारी, सदस्य, जिल्ला सभापतिलगातको उपस्थिति थियो ।

उनीहरूले एमसीसी, स्थानीय तहको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

Published : Tuesday, 2022 February 22, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया