मन्त्री आलेले यी बैंक लुटेरालाई भीआईपी पद दिए, रिजालले फसाए

काठमाडौं । विभिन्न हर्कत गर्दै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बैंक लुटेरालाई पर्यटन बोर्डको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको खुलासा भएको छ ।

मन्त्री आलेले केही दिन अगाडि बोर्डको सदस्यमा बैंक लुटेर सजाय भोगेका एमालेका कार्यकर्ता लीला लामा भनिने टासी लामालाई नियुक्त गरेका हुन् ।

लामा विभिन्न आपराधिक घटनामा जेल सजाय भुक्तान गरेर आएको व्यक्ति हुन् । लामा एमालेका कार्यकर्ता हुन् । अपराधमा सजाय पाएपछि लामाले नाम परिवर्तन गरेका छन् ।

लामालाई सदस्य बनाउन पर्यटन बोर्डका उपाध्यक्ष एवम् एमालेका नेता चन्द्र रिजालले ठूलो चलखेल गरेका थिए । रिजाललाई पनि मानव तस्करीका आरोप छ । रिजालले केही व्यक्तिलाई विदेशमा छाडेर आएका थिए ।

लामाले एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकार कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेका थिए । २०६६ साउन ३० गते प्रकाशित कान्तिपुर दैनिकको साप्ताहिक पत्रिकामा लामाले त्यतिबेला लुटपाट गरेरै एक करोडभन्दा बढी रकम कमाएको उल्लेख छ ।

लामाले लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार २०६२ सालदेखि जेलमा थिए ।

लामाले जेलभित्रबाट ब्राउन सुगरको कारोबार गरेका थिए । जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफिसपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपियाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए ।

त्यस बेला लामाको साथबाट १५ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

जेलभित्र हुनुपर्ने कैदी लामाको साथबाट १५ लाख रुपियाँ पर्ने गरगहना र इलेक्ट्रिक टेलिफोन डायरी समेत बरामद भएको थियो ।

एमाले निकट अनेरास्ववियुका कोषाध्यक्ष दीपक गौतमलाई उक्त रकम दिन लागेको अनुसन्धानमा खुलेको थियो । प्रहरीले त्यतिबेला गौतमलाई समेत पक्राउ गरेको थियो ।

उनलाई त्यतिबेला बैंक अफ काठमाण्डुको बौद्ध शाखा लुटेपछि २०६२ मा प्रहरीले पक्राउ गरेर मुद्दा लगाएको थियो ।

उनलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद सजाय फैसला गरेको थियो ।

२०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर उनलाई आममाफी दिएर जेलबाट छुटाइएको थियो ।

बैंक लुटेरा लामालाई पर्यटन बोर्डको सदस्यमा नियुक्त गर्नुमा मन्त्री आले र उपाध्यक्ष रिजालबीच अप्रकृतिक साँठगाँठ र लेनदेन रहेको आरोप छ ।

Published : Tuesday, 2022 February 22, 1:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया