देउवा र गगनबीच कुरा मिल्यो, बालुवाटार खुसी

बनेपा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् ।

बनेपामा सोमबार पार्टीका नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले आवश्यक्तानुसार तालमेल गर्नुपर्ने बताए । उनले केन्द्रका निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निर्क्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ ।’

थापाले केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो बताए ।

‘निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ’, उनले भने, ‘कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।’

शेखर कोइरालाले ५ दलीय गठबन्धनको विरोध गरिरहेका बेला महामन्त्री थापाले आवश्यक्तानुसार गठबन्धन गरेर निर्वाचनमा सहभागी हुनुपर्ने धारणा राखेका छन् ।

सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनबीच आवश्यक्तानुसार तालमेल गर्नुपर्ने धारणा राख्दै आएका छन् । महामन्त्री थापा पछिल्लो समय सभापति देउवासँग निकट हुन थालेका छन् ।

कांग्रेसका महामन्त्री थापाले प्रधानन्यायाधीश चोेलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताएका छन् ।

‘उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो’, थापाले भनेका छन् ।

उनले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको बताएका छन् ।

Published : Tuesday, 2022 February 15, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया