कांग्रेस नेतृत्वको सरकार ढाल्न यी गिरोहहरू सक्रिय भएको प्रचण्डको खुलासा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस नेतृत्वको सरकार गिराउन चलखेल भएको खुलासा गरेका छन् ।

काठमाडौंको कोटेश्वरमा आइतबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भएको बताएका हुन् ।

‘पराजित प्रतिक्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन’, उनले भने, ‘त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ । त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरू सक्रिय नै छन् ।’

अध्यक्ष दाहालले भनेका छन्, ‘अहिले कुनै तरिकाले प्रतिगमन विरोधी आन्दोलनका कारण त्यो प्रतिक्रियाबाट पैदा भएको यो गठबन्धनलाई टुटाउनको निम्ति, यो सरकार गिराउनको निम्ति, चुनावलाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरू भइराखेका छन् । तपाईं हामीले देखिराखेका छौं ।’

संविधान, लोकतन्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन बनेको दाहालले बताएका छन् । उनले गठबन्धनप्रति दृढ रहन अपील गरेका छन् ।

‘जुन सैद्धान्तिक र राजनीतिक मान्यतामा खडा भएको हो’, उनले भने, ‘त्यही मान्यतामा रहेर गठबन्धनलाई अगाडि बढाउनुपर्छ ।’

‘कुनै एउटा खास परियोजनाको निम्ति गठबन्धन बनेको होइन’, दाहालले भने, ‘जुन मूल्य र मान्यतामा टेकेर यो गठबन्धन बनाएका हौं, त्यसमा दृढ रहौं ।’

कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन भत्काउन र शेरबहादुर देउवा नेतृत्वको सरकारका ढाल्न प्रयासहरू भइरहेका बेला अध्यक्ष दाहालको खुलासाले ठूलो प्रश्न उठाएको छ ।

कांग्रेसका नेता शेखर कोइराला र अमरेश सिंहले केही दिन अगाडि अध्यक्ष दाहाललाई भेट गरेर माओवादीसँग कांग्रेसले चुनावी गठबन्धन गर्न नसकिने चेतावनी दिएका थिए ।

शेखर कोइराला प्रधानमन्त्री देउवाको सरकार ढाल्न सक्रिय भएको भनेर आरोप लागेका बेला दाहालको यो अभिव्यक्ति आएको छ ।

शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, उप–सभापति धनराज गुरुङलगायतको समूह ५ दलीय गठबन्धनको विपक्षमा छन् ।

Published : Sunday, 2022 February 13, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया