कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन् : कांग्रेस प्रवक्ता डा.महत

भरतपुर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कुनै पनि बेला वामपन्थी पार्टी मिल्नसक्ने संकेत गरेका छन् ।

शनिबार चितवनमा पूर्वसांसद स्व.एकनाथ रानाभाटको प्रथम स्मृति सभामालाई सम्बोधन गर्दै डा.महतले कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने बताए ।

‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’

प्रवक्ता डा.महतले गठबन्धनको स्थायित्वका विषयमा कांग्रेसले आवश्यकताका आधारमा निर्णय लिने बताए ।

‘निर्वाचनमा गठबन्धन गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्न सक्छन्’, डा.महतले भने, ‘त्यसको विषयमा कांग्रेसले पछि निर्णय लिनेछ ।’

एमसीसीलाई लिएर विभिन्न खालका आशंका भइरहेका बेला डा.महतले कम्युनिस्टहरू मिल्न सक्ने बताएका हुन् ।

उनले निर्वाचनमा कांग्रेसलाई जिताउन सतर्क भएर बस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

डा.महतले कांग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न पनि नहुने बताए ।

कांग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा गर्ने निर्णय छ ।

पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उनले एकढिक्का भएर यसमा केन्द्रित हुन आग्रह गरेका छन् ।

फरक प्रसंगमा बोल्दै उनले एमसीसी सम्झौताको पक्षमा सबै दलहरूको समर्थन रहे पनि अमुक मान्छेहरूले गलत प्रचार गरिरहेको आरोप लगाएका छन् ।

उनले एमसीसी सम्झौता संसदबाट पास भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने गलत कुरा भएको बताए ।

‘एमसीसीका बारेमा अहिले भएको विरोध नियोजित हो’, उनले भने, ‘एमसीसीलाई राजनीतिकरण गर्न खोजियो ।’

सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको भन्दै डा.महतले सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्न नमिल्ने बताए ।

Published : Saturday, 2022 February 12, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया