कांग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई नयाँ विधानअनुसार व्यवस्थापन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ ।

बैठक सानेपामा आइतबार दिउँसो २ बजे बस्नेछ । बिहिबारबाट सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो ।

प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह केसी, शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।

यसैबीच, कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई नयाँ विधानअनुसार व्यवस्थापन गर्ने भएको छ ।

दर्जनौं भ्रातृ तथा शुभेच्छुक संस्थाहरू पुरानो विधानबमोजिम म्याद सकिएर अवैधानिक बनिसकेका छन् ।

तिनको नेतृत्व चयनको अधिवेशन नभएको वर्षौं भइसकेको छ । भ्रातृ संस्थाका अध्यक्षहरू नै पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएपछि कतिपय भ्रातृ संस्थाहरू पार्टी विधानबमोजिम नेतृत्वविहीन बनेका छन् ।

कांग्रेसले सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधानमा एकरुपता हुने गरी नयाँ विधान पास गरेरमात्रै तिनको व्यवस्थापनलाई अघि बढाउने भएको छ ।

प्रवक्ता डा.प्रकाशशरण महतले प्रस्तावित विधानहरूमाथि अध्ययन र छलफलपछि आइतबार तिनलाई पास गर्ने र निर्णयमा पुग्ने बताए ।

‘प्रस्तावित विधानहरू नेताहरूलाई उपलब्ध गराइएको छ’, डा.महतले भने, ‘अब आइतबार २ बजे बस्ने बैठकमा नेताहरूले त्यसबारे धारणा राखेपछि निर्णयमा पुग्छौं ।’

बैठकमा बिहीबारै महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनको तयारी, संगठन सुदृढीकरण एवम् निर्वाचन तयारी केन्द्रीत राष्ट्रव्यापी अभियान सञ्चालन, सभापति पद रिक्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्था व्यवस्थापन, नयाँ भ्रातृ एवम् शुभेच्छुक संस्थालाई मान्यता दिने, क्रियाशील सदस्यहरूको व्यवस्थापन, नयाँ सदस्यता वितरण, केन्द्रीय अनुशासन समिति गठन लगायत ९ बुँदे प्रस्ताव पेस गरेका छन् ।

कांग्रेसका १३ वटा भ्रातृ तथा १८ वटा शुभेच्छुक संस्था छन् । तीमध्ये अधिकांशको अधिवेशन गर्नुपर्ने म्याद सकिएको छ ।

Published : Friday, 2022 February 11, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया