देउवाले ओली–दाहालसँग भेटेको ३८ घण्टाभित्रै गरे ठूलो घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेको ३६ घण्टाभित्र सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै मुलुक निर्वाचनमा प्रवेश गरेको छ ।

सरकारले तोकेको मितिमा निर्वाचन आयोगले निर्वाचन गर्नुपर्नेछ । त्यसका लागि सबै सहयोग सरकारले गर्नेछ ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि निर्वाचन आयोगका पदाधिकारीसँग सरकारले परामर्श गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठ ०७९ मा सकिँदैछ ।

ऐनअनुसार जनप्रतिनिधिमा निर्वाचित भएको मितिको सातौँ दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था गरिएको छ ।

वैशाख ३० गते निर्वाचन हुँदा जेठ ६ गतेबाट स्थानीय तहमा नयाँ नेतृत्वले पदवहाली गर्नेछन् ।

एमालेले स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै आएको थियो । प्रधानमन्त्री देउवाले सबै दल र शीर्ष नेताहरूसँगको परामर्शमा निर्वाचनको मिति घोषणा गरेका छन् ।

Published : Monday, 2022 February 7, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया