साँढे मन्त्रीका मान्छेका ससुरालाई किताव छाप्न सरकारी पैसा, बालुवाटारमा सचिवको १२ करोडको घर

काठमाडौं । साँढे मन्त्रीका नामले चर्चित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बालुवाटारमा १२ करोडमा घर किनेका विवादास्पद सचिव महेश्वर न्यौपानेले पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीमाथि छानविन गर्न बनाइएको समितिका संयोजक चन्द्र रिजाल निकै विवाद देखिएका छन् ।

रिजाल बोर्डका उपाध्यक्ष हुन् । तत्कालीन संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री भानुभक्त ढकालको पालामा एमालेको कोटामा उपाध्यक्ष बनेका रिजालले बोर्डको रकम दुरुपयोग गरेर आफ्नै ससुरालाई किताब छपाइ गर्न रकम दिएको खुलासा भएको छ ।
छानविन समितिका संयोजक समेत रहेका बोर्डका उपाध्यक्ष रिजालले ससुरा त्रिलोचन ढकाललाई ‘युरोपमा नेपाली’ शीर्षकको यात्रा अनुभूति लेख्न रकम दिएका थिए ।

सो कितावको प्रकाश नेपाल पर्यटन बोर्ड भनेर लेखिएको छ । ससुराको किताबको पैसा नदिएपछि उपाध्यक्ष रिजाल र कार्यकारी अधिकृत रेग्मीबीच ठूलो द्वन्द्व थियो ।

मन्त्री आले र सचिव न्यौपानेसँग रेग्मीको धेरै राम्रो सम्बन्ध नरहेको चाल पाउनेवित्तिकै रेग्मीसँग बदला लिन विवादास्पद व्यक्ति रिजालले निकै मुख मिठ्याएर बसेका छन् ।

हुन त पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने पनि कम्तिको विवादित व्यक्ति कहाँ हुन् र ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव रहेका बेला २२ रोपनी जग्गा आफ्नो भाञ्जाको नाममा किनेको भनेर विभिन्न सञ्चारमाध्यमहरूले समाचार समेत लेखेका थिए । सचिव न्यौपाने र मन्त्री आलेबीच साँठगाँठ छ ।

भृकुटीमण्डपस्थित पर्यटन बोर्डलाई उपाध्यक्ष रिजालले एमालेको सम्पर्क कार्यालय नै बनाएका छन् । बोर्डको कार्यालयलाई एमालेको सम्पर्क कार्यालय बनाएपछि पर्यटन बोर्डका कर्मचारीहरूले रिजालको विरोध गर्दै आएका छन् ।

एमालेको केन्द्रीय सदस्य बन्न निकै दौडधुप गरेका रिजाललाई एमालेका नेता सूर्य थापाले केन्द्रीय सदस्य बन्नबाट रोकेका थिए । टान र हानमा रहेका बेला भ्रष्टाचार, अनियमितता र मानव तस्करी गरेको भनेर गम्भीर आरोप लागेपछि रिजाललाई एमालेको केन्द्रीय सदस्य बनाउन नहुनेभन्दै विरोध भएपछि नेता थापाले रोकेको एमालेभित्र चर्चा छ ।

२०७२ देखि ०७४ सम्म रिजाल टानको अध्यक्ष थिए । सोही कार्यकालमा निमा न्वाङ शेर्पा पनि सदस्य थिए । शेर्पा अहिले बोर्डको सदस्य छन् । शेर्पा पनि छानविन समितिको सदस्य छन् । रिजालसँगै शेर्पा पनि भ्रष्टाचार र मानव तस्करीमा लागेको भनेर आरोप छ ।

उनीहरूका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र सार्वजनिक लेखा समिति, महालेखा परीक्षकलगायतमा उजुरी परेको छ ।

टानको अध्यक्ष रहेका बेला रिजालले पर्यटन बोर्डको रकमको बेरुजु फरछ्यौट नगरेपछि कारोबार नगर्न भनेर निर्देशन नै भएको थिाये ।

पर्यटन बोर्डबाट टानले रिजाल टानको अध्यक्ष र शेर्पा सदस्य रहेका बेला सबैभन्दा धेरै रकम लगेको आन्तरिक लेखा परीक्षणमा उल्लेख छ । रिजाल र शेर्पाको पालामा डेढ करोडभन्दा धेरै रकम बेरुजु पर्यटन बोर्डमा छ । लेखा परीक्षणका क्रममा रिजालले विल बिनानै रकम लगेको देखिएको छ ।

एमालेका नेता समेत रहेका रिजाल हानमा बसेका बेला राजनीतिक हिसावले संस्थालाई विवादित बनाएका थिए । टानमा आर्थिक अनियमितता गरेको आरोप खेप्दै आएका रिजालले सुमित्रा लामिछानेलाई युरोपमा लागेर छाडेर मानव तस्करी गरेको आरोप छ ।

छानविनको दायरमा परेको भनिएका पर्यटन बोर्डका कार्यकारी निर्देशक रेग्मीको कार्यकालमा बोर्डले राम्रो काम गरेको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय पुरस्कार समेत दिएको छ ।

यस्ता विवादित व्यक्ति रिजाललाई छानविन समितिको संयोजक बनाएर मन्त्री आले र सचिव न्यौपानेले जात्रा देखाएको भनेर पर्यटन मन्त्रालयमा कर्मचारीहरूले मुखामुख गर्ने गरेका छन् ।

Published : Monday, 2022 January 31, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया