प्यारासिटामोल औषधिको मूल्य बढ्दैन : पूर्व स्वास्थ्यमन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ज्वरोका बिरामीले प्रयोग गर्ने औषधि प्यारा सिटामोलको मूल्य बृद्धि नहुने बताएका छन् ।

निःशुल्क प्यारासिटामोल वितरण गर्दै आएका डा.अब्दुल हुसेन अन्सारीसँग पार्टी कार्यालय सानेपामा आइतबार भएको भेटका क्रममा महामन्त्री थापाले सिटामोलको मूल्य बृद्धि हुन नदिने बताए ।

महामन्त्री थापाको भनाइ उदृत गर्दै डा.अन्सारीले भने, ‘महामन्त्री गगन थापाले नेपाली कांग्रेस नेतृत्वको सरकारले प्यारासिटामोलको औषधिको मूल्य बढाउन दिँदैन भन्नुभएकोछ । जनताले प्यारासिटामोल सस्तोमा पाउनुपर्छ भन्ने उहाँको धारणा पाएको छु ।’

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका महामन्त्री थापाले औषधिमा केही औषधि उत्पादक कम्पनी र व्यापारीहरूको लापरबाहीकाकारण प्यारासिटामोलको अभाव भएको बताएका छन् ।

डा.अन्सारीले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि भेट गरेर प्यारासिटामोल औषधिको कसरी अभाव भयो भन्नेबारेमा जानकारी गराएका छन् । महामन्त्री शर्माले पनि प्यारासिटामोल औषधिको मूल्य बृद्धि गर्न नहुने धारणा राखेका थिए ।

डा.अन्सारीले महामन्त्रीद्वय थापा र शर्मालाई प्यारासिटामोल निःशुल्क उपलब्ध गराएका थिए ।

डा.अन्सारीले काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था अगाडि प्यारासिटामोल निःशुल्क वितरण गर्दै आएका छन् ।

अभाव भएका जिल्लाहरूमा पनि प्यारासिटामोल निःशुल्क उपलब्ध गराउन आफू तयार रहेको डा.अन्सारीले बताउँदै आएका छन् ।

प्यारासिटामोलको एक पत्तालाई जम्मा दश रुपियाँ मूल्य पर्छ । औषधि उत्पादक कम्पनीहरूलाई प्यारासिटामोल औषधि दश रुपियाँमा बिक्री गर्दा नाफा नभएपछि प्यारासिटामोल उत्पादनमा भारी कटौती गरेका छन् । सोही कारण प्यारासिटामोल बजारमा अभाव भएको छ ।

Published : Sunday, 2022 January 30, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया