एमालेको उपाध्यक्षभन्दामाथि उठ्न सकिनन् विद्या भण्डारी, ओलीसँग गोप्य वार्तापछि चुरीफुरी ह्वात्तै बढ्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न लिखित रुपमा आग्रह गरेको विषयमा दलका नेता र बुद्धिजीवीहरूले चिन्ता जनाएका छन् ।

एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले आफ्नो दायित्व र क्षेत्राधिकारभन्दा बाहिर गएर देउवलाई निर्वाचनका विषयमा लिखित पत्र थमाएपछि विरोध भएको हो ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री रहेका बेला संविधान विपरीतका हर्कत गरेको भनेर भण्डारीको आलोचना भएको थियो ।

ओलीलाई प्रधानमन्त्रीमा राख्नका लागि भण्डारीले त्यस बेला हदैसम्मको हर्कत गरेकी थिइन् ।

अहिले आएर एमालेका अध्यक्ष ओलीलाई फाइदा हुने गरेर विभिन्न गतिविधि गरेको आरोप भण्डारीलाई लागेको छ ।

भण्डारीलाई राष्ट्रपतिको संवैधानिक मर्यादामा बस्न नेताहरूले चेतावनी दिएका छन् ।

भण्डारीको हर्कतको सत्तारुढ गठबन्धनमा विरोध भइरहेको छ । राष्ट्रपति भण्डारी र एमालेका अध्यक्ष ओलीबीच भएको टेलिफोनमा भएको परामर्शमा प्रधानमन्त्री देउवालाई पत्र थमाएको आरोप लागेको छ ।

शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरूले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई चुनाव नसार्न लिखित आग्रह नै गर्नु अधिकारक्षेत्रको उल्लंघन भएको गरेका छन् ।

बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले अधिकार क्षेत्रभन्दाबाहिर गएर स्थानीय निर्वाचनबारे लिखित रुपमा धारणा राखेकी थिइन् ।

भण्डारीले त्यही पत्र प्रधानमन्त्री देउवालाई थमाएकी थिइन् । पत्रमा निर्वाचन सार्न ऐन संशोधनको तयारी हुनु चिन्ताजनक भन्दै यसले निर्वाचनबारे अनिश्चय बढाएको उल्लेख गरिएको छ ।

‘धेरै कानून व्यावसायी, विचार निर्माता, जनसाधारण तथा निर्वाचित जनप्रतिनिधि समेतको विचार समयमा नै निर्वाचन गराउनुपर्छ भन्ने देखिन्छ’, भण्डारीले पत्रमा भनेकी छिन्, ‘यस्ता विचारहरू निरन्तर विभिन्न संचार माध्यममा दैनिकजसो प्रकाशित भैरहेकै छन् ।’

‘चुनाव सार्नुपर्छ भन्ने आवाज सार्वजनिक वृत्तमा असाध्यै कम छ’, भण्डारीले भनेकी छिन् ।

एमालेका नेता भीम रावलले समेत राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनलाई लिएर प्रधानमन्त्री देउवालाई दिएको दवाव अनुचित रहेको टिप्पणी गरेका छन् । रावलले भण्डारीलाई आफ्नो मर्यादामा बस्न सचेत गराएका छन् ।

बुद्धिजीवी लोकराज बरालले पनि राष्ट्रपति भण्डारी आफ्नो पदीय दायराभन्दा बाहिर गएको टिप्पणी गरेका छन् । राष्ट्रपति भण्डारीले संवैधानिक अधिकारभन्दा बाहिर गएर एमालेको कार्यकर्ताले जस्तो कार्य गरेको बताएका छन् ।

Published : Saturday, 2022 January 29, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया