साँढे मन्त्रीका ठूला मान्छे भ्रष्टाचार र मानव तस्करीमा परे, मन्त्रालय र बोर्डमा भागाभाग

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल आर्थिक घोटालादेखि मानवतस्करीसम्मको अभियोगमा मुछिएका छन् ।

सीईओ धनञ्जय रेग्मीलाई कारवाही गर्न बनेको समितिको संयोजक रहेका रिजाल आफै आर्थिक घोटाला र मानवतस्करीमा मुछिएका हुन् ।

उनी टान (ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल)का अध्यक्ष रहँदा डेढ करोड बढी बेरुजु निस्किएको छ । टानले पर्यटन बोर्डलाई पठाएको आन्तरिक लेखापरीक्षणमा डेढ करोडभन्दा बढी आर्थिक अनियमितता देखिएको स्रोतले जनाएको छ ।

पर्यटन बोर्डको उपाध्यक्ष हुनुभन्दा अघि दुई वर्षे कार्यकालमा रिजालले उक्त रकम बिनाआधार खर्च गरेका हुन् ।

रिजालले पदयात्रामा जाने पर्यटकबाट पर्यटक सूचना–व्यवस्थापन प्रणाली (टिम्स कार्ड)मार्फत उठाइएको रकममा अनियमितता गरेको आरोप छ ।

टानको अध्यक्षमा रिजाल २०७२ को असोज २८ मा नियुक्त भएका थिए । २०७७ को माघमा पर्यटन बोर्डको उपाध्यक्ष बनेका थिए ।

रिजालको पालामा १६ लाखभन्दा बढी होटेल खर्च देखिएको छ । अमेरिकाको शिकागोमा पर्यटन प्रवर्द्धनको नाममा ४२ लाखभन्दा बढी खर्च गरिएको छ ।

विभिन्न देशमा भिजिटका नाममा थप लाखौ खर्च गरिएपनि त्यसको सही हिसाबकिताब आन्तरिक लेखापरीक्षणमा देखाइएको छैन । २०६६ पछि पर्यटकबाट टिम्स कार्डबाट पैसा उठाउन शुरू गरिएको थियो ।

टिम्स कार्डअनुसार पर्यटकबाट उठाइएको पैसाको ३० प्रतिशत पर्यटन बोर्ड, ३० प्रतिशत नेपाल सरकार, ३० प्रतिशत टान र १० प्रतिशत मजदूर कोषमा रहनेगरी त्यतिबेला सम्झौता भएको थियो ।

पर्यटकबाट उठाइएको दस्तुरमा हिनामिना गरेपछि पनि रिजालमाथि केही कारवाही भएको थिएन । विगत ५ वर्षदेखि टानको लेखापरीक्षणसमेत भएको थिएन ।

पछिल्लो समय पर्यटन बोर्डको दबाबमा गरिएको लेखापरीक्षणमा डेढ करोड बेरुजु देखिएको हो ।

रिजाल मानवतस्करीमा पनि मुछिएका छन् । रिजालले २०७५ को असोज १ गते सी नेपाल ट्राभल एण्ड एडभेन्चर प्रालि नामको कम्पनीकी म्यानेजर सुमित्रा लामिछानेसँग मोटो रकम लिएर त्यहाँ आयोजना हुन लागेको एक कार्यक्रममा पठाएका थिए ।

लामिछाने अहिलेसम्म उतै लुकेकी छिन् । उनी अहिलेसम्म नेपाल आएकी छैनन् । त्यतिबेला अष्ट्रियामा आयोजित अल्पिनमेस २०१८ कार्यक्रममा टान र बोर्डका तर्फबाट सहभागी हुन लामिछानेलाई त्यहाँ पठाइएको थियो ।

त्यतिबेलाका टानका एक बोर्ड सदस्यले रिजालले लामिछानेको नाम सिफारिस गर्न दबाब दिएको बताएका छन् ।

आर्थिक अनियमितता र मानवतस्करीमा मुछिएका रिजाल यतिबेला आफैं पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीका काम कारवाहीमाथि छानबिन गर्न बनेको समितिका संयोजक बनेका छन् ।

कर्मचारीहरूलाई साँढे भनेर अपमान गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आतंक मच्चाइरहेका बेला उनी निकट मानिने रिजाल भ्रष्टाचार र मानव तस्करीमा फसेका छन् ।

रिजालले आफूलाई लागेका अभियोगहरूको खण्डन गर्दै आएका छन् । रिजालले आफूलाई लागेको अभियोग तथ्यहीन रहेको भनेर विभिन्न सञ्चारमाध्यमलाई बयान समेत दिएका छन् ।

दरबार संग्राहलयको रेष्टुरेन्ट प्रकरणमा सेलिब्रेटी बनेका मन्त्री आलेले बतास समूहलाई ठूलो नोक्सानी गरेका छन् । ठेक्का लगाउने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र पर्यटन मन्त्री योगेश भट्टराईलाई कारबाही गर्नुको साटो व्यापारीलाई ठूलो नोक्सान गरेका छन् । मन्त्री आलेको यो हर्कतको विरोध भइरहेका छन् ।

बतास समूहलाई भएको नोक्सानीको भरपाई मन्त्री आलेले तिर्नुपर्ने भनेर जोडदार रुपमा माग उठ्न थालेको छ । मन्त्री आलेको विगतको रेकर्ड पनि गतिलो छैन ।

मन्त्री आलेले क्यासिनो सञ्चालनका लागि गुपचुप रुपमा अनुमति दिएका छन् । उनले गुण्डा नाइकेलाई समेत क्यासिनो सञ्चालनका लागि अनुमति दिएका छन् ।

Published : Friday, 2022 January 28, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया