जसपा छाडेर कृषिमन्त्री यादव एमालेमा प्रवेश गर्ने, अखिलले भरियो सचिवालय

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र कृषि तथा पशुपंछी विकासमन्त्री मेहिन्द्र राय यादवबीच खटपट भएसँगै पार्टी छाड्नेसम्मको चर्चा हुन थालेको छ ।

मन्त्री यादवले जसपा छाडेर एमालेमा प्रवेशको तयारी गरेको उच्च स्रोतले जनाएको छ । यादवले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग बालकोटमा पुगेर कुराकानी गरेको स्रोतको दाबी छ । मन्त्री यादवलाई ओलीसँग एमालेका एकजना केन्द्रीय सदस्यले बालकोट लगेर भेट गराएको बुझिएको छ ।

यसैबीच, मन्त्री यादवले एमाले निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का एकजना विद्यार्थी नेतालाई आफ्नो सचिवालयमा पिए बनाएर राखेका छन् । मन्त्री यादवले एमालेप्रति देखाएको मायाप्रेमले उनी अब जसपा छाडेर एमालेमा प्रवेशको तयारी गरेको चर्चा मन्त्रालयमा हुने गरेको छ ।

एमालेमा प्रवेश गर्न लागेको भन्ने आरोपका विषयमा मन्त्री यादवसँग ०१४२११९२९ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

आफ्नो सचिवालयमा एमालेका नेता कार्यकर्ताले भरेपछि मन्त्री यादवको विषयमा प्रश्न उठेको हो । पछिल्लो समय कृषि मन्त्रालयमा एमालेका केन्द्रीय नेताहरूको अलिक धेरै आउजाउ हुने गरेको छ ।

सचिवालयमा पिए बस्नका लागि जसपामा प्रसस्त नेता कार्यकर्ता हुँदा हुँदै मन्त्री यादवले एमालेका कार्यकर्तालाई पिए बनाउनुमा खोट रहेको आरोप छ ।

मन्त्री बन्नका लागि तत्कालीन समयमा महन्थ ठाकुरलाई छाडेर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए । उपेन्द्रले आफूलाई साथ दिएको भन्दै महिन्द्र राय यादवलाई मन्त्री समेत बनाएर गुन लगाएका थिए ।

अहिले आएर महिन्द्र यादव र उपेन्द्र यादवका बीच विवाद भएको छ । विवाद के विषयमा भएको भनिएको छैन । तर, मन्त्री यादवले अध्यक्ष उपेन्द्र यादवसँग परामर्श नै नगरेर आफू खुसी काम गरेपछि खटपट भएको बुझिएको छ ।

अध्यक्ष उपेन्द्र यादव र मन्त्री महिन्द्र राय यादवबीच राम्रोसँग बोलचाल समेत हुन छाडेको जसपाका नेताहरूको भनाइ छ ।

Published : Friday, 2022 January 28, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया