देउवा सरकार आएको एक वर्षभित्रै सवा अर्बको भ्रष्टाचार फाइल खोल्यो, ठूला माछाहरू फन्दामा परे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहितका १८ जनाविरुद्ध १ अर्ब २४ करोडभन्दा धेरै भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको छ ।

बुधबार आयोगले विशेष अदालतमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष पशुपति मुरारकाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ बराबरको राजश्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा १८ जनामाथि मुद्दा दायर गरेको छ ।

मुद्दा दायर भएकामा भू–गर्भ विभागका सुपरिटेन्डेन्ट माइनिङ इञ्जिनियर जयराज घिमिरे, कानून उप–सचिव सपना अधिकारी, उप–न्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा रहेका छन् ।

सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा. सौनक भण्डारीविरुद्ध पनि मुद्धा दायर भएको छ ।

खानी तथा चुनढुंगा दोहनमा सञ्चालकसँग मिलेमतो गरी सरकारी राजश्व हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

९ वटा कम्पनीका ९ जना सञ्चालकविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरूसँग सोही बराबरको बिगो र ऐन अनुसार कैद माग गरिएको छ ।

सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयलविरुद्ध आयोगले भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

अन्नपूर्ण कोएरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगढ, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चल कोयरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकार आएको एक वर्षभित्र आयोगले भ्रष्टाचारविरुद्ध सबैभन्दा ठूलो मुद्धा दायर गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध आफूलाई कडाइका साथ अगाडि बढाएका बेला अख्तियारको कार्यको प्रशंसा भएको छ ।

Published : Wednesday, 2022 January 26, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया