कांग्रेस नेता डा.अन्सारीद्वारा काठमाडौंमा सिटामोल निःशुल्क वितरण, सहज नभए देशभरि बाँड्ने

काठमाडौं । कोरोना महामारीका बेला ज्वरोको औषधि प्यारासिटामोल अभाव भएको भनेर बबण्डर भएका बेला नेपाली कांग्रेसका युवा नेता एवम् औषधि व्यवसायी डा.अबुल हुसेन अन्सारीले काठमाडौंमा निःशुल्क प्यारासिटामोल वितरण गरेका छन् ।

बुधबार काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको मूलगेट अगाडि डा.अन्सारीले प्यारासिटामोल निःशुल्क वितरण गरेका हुन् ।

प्यारासिटामोल औषधि निःशुल्क वितरण कार्यक्रमको शुरुवात नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले गरेका हुन् ।

खतिवडाले कोरोनाका बिरामीको सेवा र सरकारलाई सहयोग गर्ने पवित्र उदेश्यका साथ डा.अन्सारीबाट भएको निःशुल्क प्यारासिटामोल औषधि वितरण कार्य सह्रानियर रहेको बताएका छन् ।

‘बजारमा प्यारासिटामोल अभाव भएका समाचार हामीले हेरेका छौँ । कृत्रिम अभाव भएको पनि सुनेका छौँ’, खतिवडाले भने, ‘डा.अबुल हुसेन अन्सारीले निःशुल्क औषधि वितरणको सुरुवात गरेर मानवता देखाउनुभएको छ ।’

नेता खतिवडाले भने, ‘महामारीका बेला कमाउनेभन्दा पनि जनताको सेवा गरेर पूण्यआर्जन गर्नुपर्छ ।’ डा.अन्सारीको कार्यले कोरोनाका बिरामीलाई ठूलो सहयोग मिल्ने उल्लेख गरे ।

डा.अन्सारीले स्वयम् सेवकहरू राखेर प्यारासिटामोलका साथै मास्क पनि वितरण गरेका छन् । यो अभियान उनले प्यारासिटामोल बजारमा सहज नहुँदासम्म वितरण गर्नेछन् ।

डा.अन्सारीले प्यारासिटामोल निःशुल्क वितरण शुरु गरेपछि केही कालोबजारी गरेर कमाउधन्दामा लागेका औषधि व्यवसायीहरूलाई तनाब भएको छ ।

डा.अन्सारीले काठमाडौं उपत्यकामा कसैलाई प्यारासिटामोल अभाव भएमा औषधि व्यवस्था विभागको मूलगेट अगाडि आएमा चिकित्सकहरूको सल्लाहअनुसार प्यारासिटामोल निःशुल्क दिने बताएका छन् । ललितपुरको बाग्मतीपुलस्थित कुपण्डोलमा रहेको आफ्नो कार्यालय आयानमा पनि प्यारासिटामोल उपलब्ध गराउने डा.अन्सारीले बताएका छन् ।

‘काठमाडौं उपत्यकाभित्र कसैले प्यारासिटामोल पाउनु भएन भने औषधि व्यवस्था विभागको मूलगेट अगाडि आउनु होला प्यारासिटामोल निःशुल्क दिनेछौँ’, डा.अन्सारीले भने, ‘बिरामीको चेकअप गरिएको पर्चा पनि साथमा देखाउनुपर्नेछ ।’

डा.अन्सारीले एकहप्ताभित्र देशभरि प्यारासिटामोलको अभाव सहज नभएमा नेपाल विद्यार्थी संघ (नेविसंघ)मार्फत प्यारासिटामोल औषधि उपलब्ध गराउने बताएका छन् ।

डा.अन्सारीले गत वर्ष कोरोनाका बिरामीको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधि बंगलादेशबाट आयात गरेर देशभरि पुर्‍याएका थिए । डा.अन्सारीले त्यस बेला पनि कोरोनाका बिरामी र सरकारलाई सहयोग गरेका थिए ।

अहिले पनि डा.अन्सारीले भारतले निर्यातमा प्रतिबन्ध लगाएको एनोक्सापैरिन र इन्ट्रा–बिनस इम्युनिोग्लोब्युलिन नामक दुई वटा औषधि आयात गर्नका लागि औषधि व्यवस्था विभागसँग अनुमति मागेका छन् ।

भारतले यी दुई औषधि अपर्याप्त भएपनि निकासीमा रोक लगाएका छ । सोही औषधि डा.अन्सारीले बंगलादेशसहित अन्य मुलुकहरूसँग समन्वय गरेर नेपालमा आयात गर्ने तयारी गरेका छन् ।

कार्यक्रममा नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य, नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2022 January 26, 4:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया