‘शेखर गुट’द्वारा ५ दलीय गठबन्धनको विरोध, वैशाखमा चुनाव गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला नेतृत्वको गुटले ५ दलीय गठबन्धनमा बसिरहेमा ठूलो क्षति हुने ठहर निकालेको छ ।

सोमबार भर्चुअलमार्फत बसेको ‘शेखर गुट’को बैठकले आगामी निर्वाचनहरूमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

उनीहरूले स्थानीय तहको निर्वाचन वैशाखमा माग पनि गरेका छन् । स्थानीय तहको निर्वाचन वैशाखमा गर्न दवाव दिने निर्णय पनि शेखर गुटले गरेको छ ।

सभापतिमा उम्मेदवार बनेका बेला गुट र भागबण्डाको राजनीतिको अन्त्य हुने भने पनि शेखरले गुटको बैठक र भेला गर्दै आएका छन् ।

सभापतिमा पराजित भएपछि तनावमा परेका शेखरले सभापति शेरबहादुर देउवालाई दवावमा राख्न विभिन्न हर्कत गर्दै आएका छन् ।

शेखरलाई उप–सभापतिमा पराजित चन्द्र भण्डारी र महामन्त्रीमा पराजित मीनेन्द्र रिजालले गुट चलाउन र देउवालाई दवाव सिर्जना गर्न उकास्दै आएका छन् ।

चन्द्र भण्डारीले तत्कालीन समयमा काठमाडौं क्षेत्र नं. १ को उप–निर्वाचनका बेला कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तर्घात गराएका थिए ।

अहिले उनै भण्डारीले शेखरलाई फेरि बेलाबेला उचाले विभिन्न हर्कत गराउँदै आएको आरोप छ ।

गुटको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी गठबन्धनका नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गरेको भन्दै विरोध जनाएको छ ।

स्थानीय तहको निर्वाचनका विषयमा पार्टीभित्र साझा धारणा बनाएर मात्रै अन्य पार्टीसँग छलफल गर्नुपर्ने शेखर गुटको निष्कर्ष छ ।

केन्द्रीय कार्यसमितिको बैठक बोलाएर स्थानीय तहको निर्वाचनको विषयमा निर्णय गर्नुपर्ने गुटको निर्णय छ ।

गुटको बैठकमा शेखरका साथै गगन थापा, रामशरण महत, मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, चन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।

Published : Monday, 2022 January 24, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया