सेनाका मेजरको जागिर फुत्कियो, जेल पनि बस्नुपर्ने

काठमाडौं । नेपाली सेनाले मेजर अशोकजंग शाहीलाई जागिरबाट बर्खास्त गरेको छ ।

भाइटीकाको भोलिपल्ट कैलालीको चिसापानी बजारमा रक्सी सेवन गरेर बबण्डर मच्चाएका मेजर शाहीलाई बखास्त गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शाही नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी थिए ।

सैनिक अदालतको निर्णयबमोजिम शाहीलाई सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताएका छन् ।

भाइटीकाको भोलिपल्ट राति ११ बजेतिर मेजर शाही प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर कैलालीको चिसापानी बजार पुगेका थिए ।

चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलसँग मेजर शाहीले विवाद सुरु गरेका थिए ।

शिक्षालयको गेटमा पुगेर ड्युटी बसिरहेका हुद्दा तीर्थबहादुर बडुवाललाई एसएलआरसहित गाडीमा राखेर मेजर शाही पुन चिसापानी बजार पुगेका थिए ।

मजेर शाही फर्किएर आएर पुनः बितण्डा मच्चाउन थालेको भन्दै स्थानीयले उनको गाडीसमेत तोडफोड गरेका थिए ।

हुद्दाले बोकेको राइफलसमेत खोसेर मेजर शाहीले स्थानीयलाई ताकेक थिए ।

मदिराले मातेका मजेर शाहीले बितण्डा मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थलपुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।

आक्रोशित स्थानीयले आक्रमण गर्दा मेजर शाहीको टाउकोमा चोटसमेत लागेको थियो ।

शाहीमाथि छानबिन गर्न सैनिक मुख्यालयले महासेनानीको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो ।

सैनिक अदालतले उनलाई एक महिना कैदसमेत गर्ने निर्णय सुनाएको छ ।

Published : Thursday, 2022 January 20, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया