गृहमन्त्री खाणको निर्णयले प्रहरीका साना दर्जाका हजारौं व्यक्ति खुसी, प्रहरीमा इतिहाँस बन्यो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका साना दर्जाका प्रहरी कर्मचारीहरूको पीडा बुझेर न्याय दिएका छन् ।

गृहमन्त्री खाणको निर्देशनमा मन्त्रिपरिषदले प्रहरी नियमावली संशोधन गरेको छ । संशोधनसँगै नेपाल प्रहरीका इन्स्पेक्टरभन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मीको बढुवा हुनेछ ।

सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु भएको छ । गृहमन्त्री खाणको बोल्ड निर्णयलाई प्रहरीभित्र ऐतिहाँसिक भनेर स्वागत गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी विष्णु केसीले तीन महिनाभित्र संशोधित नियमावलीअनुसारका पदमा बढुवा गरिसक्ने तयारी रहेको बताएका छन् ।

प्रहरीमा ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् । १५ हजार ५ सय २७ जना सहायक हवल्दारमा बढुवा हुँदैछन् ।

हवल्दार पदमा कार्यरत २५ प्रतिशतलाई वरिष्ठ हवल्दारमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

१४ हजार ९ सय ८९ जना हवल्दार छन् । उनीहरूमध्येबाट ३ हजार ७ सय ४७ जना बरिष्ठ हवल्दारमा बढुवा हुनेछन् ।

१ हजार ३ सय २० जना प्रहरी नायव निरीक्षक (सई)बाट बरिष्ठ सईमा बढुवाका लागि प्रतिस्पर्धामा छन् ।

प्रहरीमा ४ हजार २९६ जना सई कार्यरत छन् । उनीहरूमध्येबाट १ हजार ३ सय २० जना वरिष्ठमा बढुवा हुन्छन् ।

प्रहरीभित्र ठूला पदमा मात्रै अघिल्लो गृह मन्त्रीहरूले बढुवामा रुचि राख्ने गर्दथे । यस पटक गृहमन्त्री खाणले ठूला पदमा भन्दा पनि प्रहरीका साना पदमा रुचि देखाएका छन् ।

साना पदका प्रहरी कर्मचारीहरूको मागको सुनुवाई कम हुँदै आएकोमा यस पटक गृहमन्त्री खाण आफैले साना पदमा रहका प्रहरीको माग धमाधम पूरा गरिदिएका छन् ।

गृहमन्त्री खाणको यो प्रस्तावलाई प्रहरीहरूले रुचाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि साना पदका प्रहरीको बढुवामा रुचि देखाएका छन् ।

Published : Thursday, 2022 January 20, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया