कोरोनाको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बसेर परीक्षण गर्न आग्रह

काठमाडौं । कोरोनाभाइरसको लक्षण देखिएपछि ५ दिन क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गर्न ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाले कोरोनाको लक्षण देखिनासाथ परीक्षणभन्दा पनि क्वारेन्टिाइनमा बस्न सुझाव दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोरोना प्रेस ब्रिफिङमा बोल्दै ईडीसीडीका निर्देशक डा.कृष्णप्रसाद पौडेलले कोरोनाका लक्षण देखिनासाथ ५ दिन क्वारेन्टिाइनमा बसेर मात्र कोरोनाको परीक्षण गर्नुपर्ने बताएका छन् ।

‘ओमिक्रोन भेरिएन्ट अलि बढी संक्रामक छ’, ईडीसीडीका निर्देशक डा.पौडेलले भने, ‘खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराउन सक्छ ।’

निर्देशक डा.पौडेलले भनेका छन्, ‘५ दिन क्वारेन्टिाइन नभए ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्छ ।’

ज्वरो आउनु, नाक बन्द हुनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु ओमिक्रोनका लक्षण हुन सक्ने डा.पौडेलले बताएका छन् ।

उनले भनेका छन, ‘अहिलेको संक्रमण हेर्दा अस्पताल भर्ना हुने दर कम देखिएको छ ।’

‘जनस्वास्थ्यका मापदण्डको पालना तथा खुल्ला ठाउँमा बस्ने, हावा खेल्ने ठाउँमा बस्ने गर्नाले संक्रमण सर्ने जोखिम कम हुन्छ’, डा.पौडेलले भनेका छन् ।

निर्देशक डा.पौडेलले केही जटिलता रहेमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहनु पर्ने बताएका छन् ।

Published : Wednesday, 2022 January 19, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया