तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने तयारी, दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थप्ने भएको छ ।

तीन जना एआईजी थप्ने गृह मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको स्रोतले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुनेवित्तिकै तीन जना डीआईजीहरूको एआईजीमा बढुवा हुनेछ ।

डीआईजीहरू धिरजप्रताप सिंह, उत्तमराज सुवेदी र रविन्द्र धानुकलाई एआईजी बनाउने तयारी भएको बुझिएको छ ।

डीआईजी धानुकलाई माओवादी केन्द्रको समर्थन छ । धानुकले एआईजी बन्न माओवादीभित्र ठूलै हर्कत गरेको स्रोतको भनाइ छ ।

तत्कालीन समयमा लुम्बिनी प्रदेश प्रहरीको प्रमुख रहेका बेला डीआईजी धानुकले एमालेको सरकार र मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी बचाउन नेपाली कांग्रेसका महिला सांसदलाई अभद्र व्यवहार गरेका थिए । उनै धानुकलाई अहिले अएर माओवादीले बोकेको छ ।

डीआईजी सिंह केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत छन् । डीआईजी सुवेदी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । डीआईजी धानुक कार्य विभागमा छन् ।

नेपाल प्रहरीमा हाल पाँच जना एआइजी छन् । ३ जनाको दरबन्दी थपिएसँगै एआइजीको संख्या ८ पुग्नेछ ।

प्रहरीमा अहिले प्रद्युम्न कार्की, हरिबहादुर पाल, निरजबहादुर शाही, विश्वराज पोखरेल र सहकुल थापा एआईजी छन् ।

Published : Tuesday, 2022 January 18, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया