वाम विश्लेषक डा.सुरेन्द्र केसीले भने, ‘कांग्रेस र शेरबहादुर मात्रै इमान्दार देखिए’

काठमाडौं । वाम राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नेपाली कांग्रेस र सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा डा.केसीले एमसीसीका विषयमा नेपाली कांग्रेस र प्रधानमन्त्री देउवाले इमान्दारिताका साथ एउटै कुरा अडान लिएर बोलेको बताएका हुन् । केसीले एमसीसी ल्याउने सम्झौता गर्ने व्यक्ति माओवादीका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको बताए ।

‘नेपाली कांग्रेसले दोहोरो कुरा गरेको छैन एमसीसीलाई लिएर । कांग्रेसको पोजिशन एउटै छ । एमसीसी गरेको त प्रचण्डले हो’, विश्लेषक डा.केसीले भनेका छन्, ‘अनि प्रचण्ड किन दोहोरो कुरा गर्छन् ? प्रश्न त्यो हो । यो त अरुले गरेको होइन नि ?’

डा.केसीले प्रधानमन्त्री देउवालाई प्रजातान्त्रिक संस्कार भएको र बोलीमा इमान्दारिता रहेको नेताको संज्ञा दिएका छन् ।

‘शेरबहादुर देउवा डेमोक्रेटिक लिडर हो । डेमोक्रेटिक लिडरले अपोजिशन पार्टीलाई इग्नोर गर्न मिल्दैन’, डा.केसीले भने, ‘शेरबहादुर देउवाजीले केपी ओलीलाई ढिलै भएपनि भेटेर एकदमै राम्रो कदम चाल्नुभयो । उदेश्य जे भए पनि देउवाले ओलीलाई भेटेर राम्रो गर्नुभयो ।’

उनले भने, ‘शेरबहादुर देउवा नेपाली राजनीतिको यस्तो पात्र हो जो आफ्नो व्यक्तिगत स्वार्थको लागि सम्पूर्ण लुटाउन तयार हुन्छन् । शेरबहादुर देउवाको बारेमा मैले यो सुनेको छु । शेरबहादुर देउवालाई राम्रो÷नराम्रो भन्ने कुरा अर्कै रह्यो ।’

डा.केसीले भनेका छन्, ‘एमसीसीका बारेमा थाहा छ । उहाँले निष्ठाका साथ भन्नुभएको छ । एमसीसी गर्नुपर्छ । एमसीसी देश र जनताको पक्षमा छ ।’

उनले भनेका छन्, ‘बास्तवमा एमसीसी गरेको शेरबहादुरले त होइन नि । यसमा छ वटा सरकार छन् । एमसीसीको सुरुवात गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो । एमसीसीमा इमान्दारिता शेरबहादुर देउवाको मात्रै देखियो ।’

इतिहाँसविद् समेत रहेका डा.केसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ‘साँढे’को संज्ञा दिएका छन् । विभिन्न द्वन्द्व र आन्दोलनबाट सिथिल बनेको उद्योग, व्यवसाय सुधारतर्फ गइरहेका बेला मन्त्री आलेले व्यापारीहरूलाई धम्काएर आतंक मच्चाएको बताए ।

डा.केसीले उद्योगी, व्यवसायीहरूलाई काम गर्न दिनुपर्ने बताए । बतास समूहमाथि गरिएको आक्रमणको उनले विरोध गरेका छन् । मन्त्री आलेलाई आफ्नो पदीय मर्यादामा बस्न उनले सुझाव दिएका छन् । मन्त्री बन्नका लागि आलेले करोडौँ रुपियाँ बुझाएको कुरा बाहिर आइसकेको बताएका डा.केसीले भने, ‘प्रेम आले मन्त्री बन्न के–के गरेका हुन् ? सबैलाई थाहा छ ?’

‘पशुपतिको धर्मशालामा बतास समूहले वार्षिक १ करोड भाडा तिरेको छ । धर्मशालामा एउटा पनि शौचालय थिएन’, डा.केसीले भने, ‘सरकारसँगको सहमतिअनुसार बतास समूहले अट्याच ट्वाइलेट बाथरुम बनाएको छ ।’

‘उद्योगी व्यवसायीलाई लखेट्न पाइँदैन । आर्थिक अवस्था चलायमान भएको छ । मन्त्री साँढे हुनुभएन’, उनले भने, ‘धर्मशालामा ५ हजारभन्दा धेरै लिन पाइँदैन । मासु माछा खान पनि पाइँदैन । साकाहारी छ ।’

Published : Monday, 2022 January 17, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया