रोक्न खोज्दाखोज्दै डीआईजी सिंहले पाइन दर्ज्यानी चिन्ह, पुगिन् प्रहरीको ठूलो पदमा

विभिन्न पदमा हालै पदोन्नति भएका २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएकी पूजा सिंहसहितका अधिकारीहरू दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सोमबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीले डीआईजी सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईजीपी क्षेत्रीले प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

दर्ज्यानी चिन्ह पाउनेहरूमा प्रहरी नायव महानिरीक्षक पूजा सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई.रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक र १४ जना प्राविधिक प्रहरी निरीक्षक रहेका छन् ।

आईजीपी क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी वहन गर्न क्रियाशील हुन निर्देशन दिएका छन् ।

प्रहरी नायव महानिरीक्षक सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई संगठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई काम गर्ने जनाएकी छिन् ।

उनले आ–आफ्नो स्थानबाट निष्ठापूर्वक र ईमान्दारीताका साथ खटिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

डीआईजीमा बढुवा भएर दर्ज्यानी चिन्ह पाउने सिंह मधेशी महिलाबाट प्रहरीको उच्च पदमा पुग्ने पहिलो महिला हुन् । उनलाई रोक्न विभिन्न समूहले ठूलो हर्कत गरेका थिए ।

गृहमन्त्री बालकृष्ण खाणको विशेष पहलमा सिंहलाई डीआईजी बनाइएको हो । नेपाली कांग्रेस नेतृत्वको सरकारले मधेशी महिलालाई प्रहरीको ठूलो पदमा लगेर मधेशी समुदायप्रति कांग्रेसको धारणा दिएको छ ।

Published : Monday, 2022 January 17, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया