नेपालले लिपुलेक ज्यान गए पनि नछाड्ने, नेपालले दियो भारतलाई कुटनीतिक रुपमा चेतावनी

काठमाडौं । भारतले नेपाली भूमिमा सडक निर्माण गरेपछि नेपाल सरकारले रोक्न आग्रह गरेको छ ।

सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूमिमा सडक नबनाउन भारतलाई आग्रह गरेका हुन् ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माणको कार्य गरेपछि सरकारले रोक्नुपर्ने बताएका छन् ।

महाकाली पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।

उक्त क्षेत्रमा एकपक्षीय सडक निर्माण कार्य रोक्न भारतलाई आग्रह गरेको उनले बताएका छन् ।

‘महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ’, उनले भनेका छन् ।

‘नेपाल सरकारले भारत सरकारलाई नेपाली भू–भाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण/विस्तार रोक्न आग्रह गर्दै आएको छ’, मन्त्री कार्कीले भनेका छन् ।

‘नेपाल र भारतबीच रही आएको घनिष्ट र मैत्रिपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचका सीमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको छ’, उनले भनेका छन् ।

मन्त्री कार्कीले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई मनन गरेर सरकारले सीमा समस्या समाधान गर्नका निमित्त कूटनीतिक माध्यमद्वारा प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण कार्य तीव्रताका साथ अगाडि बढेको अभिव्यक्ति दिएका थिए ।
मोदीको अभिव्यक्तिपछि नेपालमा भारतको विरोध भइरहेको छ ।

Published : Sunday, 2022 January 16, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया