लिपुलेकबारे भारतीय राजदूतावासको यस्तो आयो धारणा

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले नेपाल–भारत सीमाका सम्बन्धमा भारत सरकारको धारणा यथावत रहेको जनाएको छ ।

नेपालका लागि भारतीय राजदूतावास, लैनचौर, काठमाडौंले शनिबार विज्ञप्ति जारी गरेर नेपाल–भारतबीच सीमाको सम्बन्धमा पुरानै धारणा यथावत र स्पष्ट रहेको जनाएको हो । लिपुलेकको नाम उल्लेख नगरेर भारतीय राजदूतावासले कुटनीतिक रुपमा जवाफ दिएको छ ।

‘भारत–नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रुपमा यथावत र स्पष्ट रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने हाम्रो धारणा रहेको छ’, भारतीय राजदूतावासले भनेको छ, ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धि विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीयसम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक बनाइरहेको अभिव्यक्ति दिएपछि विरोध हुँदै आइरहेका बेला भारतीय दूतावासले सीमाका विषयमा पुरानै अडान यथावत रहेको जनाएको छ ।

नेपाली भूमि लिपुलेकलाई भारतले कब्जामा लिएर सडक निर्माण गरेपछि नेपालमा विरोध हुँदै आएको छ । लिपुलेकलाई नेपालले आफ्नो नक्साभित्र राखेको छ ।

Published : Saturday, 2022 January 15, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया