देउवासँग एमालेका नेताहरूको भेटवार्ता, बालुवाटारबाट खुसी हुँदै बाहिरिए नेताहरू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

शनिबार प्रमुख प्रतिपक्ष एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए ।

‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताएका छन् ।

देउवाले आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए ।

एमालेका नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिभण्डलले प्रधानमन्त्री देउवालाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ । नेता योगेश भट्टराई पनि भेटमा सहभागी थिए ।

प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा प्रमुख विपक्षी दलको सुझाव र सल्लाहलाई कार्यान्वयन गर्ने आश्वासन दिएपछि एमालेका नेताहरू खुसी हुँदै बालुवाटारबाट बाहिरिएका छन् ।

Published : Saturday, 2022 January 15, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया