लिपुलेकबारे गगन-विश्वप्रकाशको विज्ञप्ति निकै कमजोर, डरले थुरुरु कामे

काठमाडौं । नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेक क्षेत्रभित्र भारतले सडक बनाइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नेपाली भूमिभित्र बनाइएको भारतीय सडकप्रति आपत्ति जनाएका हुन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ’, कांग्रेसले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहोर्‍याउन चाहन्छ ।’

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो । नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट छ’, विज्ञप्तिमा भनिएको छ ।

‘कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ’, महामन्त्रीद्वय थापा र शर्माले भनेका छन्, ‘नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट छ ।’

‘दुई राष्ट्रबीचको सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ’, थापा र शर्माले भनेका छन् ।

‘दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ’, महामन्त्रीद्वय थापा र शर्माले विज्ञप्तिमा भनेका छन् ।

महामन्त्री थापा र शर्माले सबैभन्दा झुर र कमजोर विज्ञप्ति जारी गरेर लिपुलेकबारे झाराटार्ने काम गरेको भन्दै आलोचना भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा लिपुलेकको विवाद कुटनैतिक तरिकाले समाधान गर्न चाहेका छन् ।

महामन्त्री हुनुभन्दा अगाडि थापा र शर्माले लिपुलेकका विषयमा चर्को अभिव्यक्ति दिने गरेका थिए । शुक्रबार जारी उनीहरूको संयुक्त विज्ञप्ति निकै कमजोर छ ।

Published : Friday, 2022 January 14, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया