कांग्रेस नेता भण्डारीले कम्युनिस्टभित्र उथलपुल ल्याइदिए, प्रचण्ड–माधवलाई तनाब

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले कम्युनिष्टहरूसंगको सहकार्य तत्काल तोड्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ को पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भण्डारीले कांग्रेसले कसैको सहारामा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताए । उनले कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरेका छन् ।

युवा नेता भण्डारीले कम्युनिष्टसंगको सहकार्य जति बढायो त्यति नै कांग्रेसलाई घाटा हुने हुँदा सहकार्य तत्काल तोड्नुपर्ने बताएका थिए ।

कम्युनिष्टलाई कांग्रेसले सधै विश्वास गर्दै आएको भएपनि कांग्रेसले गर्दै आएको विश्वासमाथि घात गर्ने काम कम्युनिष्टहरूबाट हुने गरेको नेता भण्डारीले बताएका छन् ।

मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा रहेको हुँदा आगामी निर्वाचमा एक्लैले बहुमत ल्याउनका लागि कांग्रेस आजैदेखि तयारीमा जुट्नुपर्ने भण्डारीले बताएका छन् ।

नेता भण्डारीले कम्युनिस्टसँगको सहकार्य तोड्नुपर्ने अभिव्यक्ति दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई तनाब भएको छ ।

उनले निर्वाचनको तयारीका लागि वडा तहसम्म कार्यक्रम लिएर जिल्ला कार्य समितिहरू जानुपर्ने बताएका छन् ।

पार्टीको आन्तरिक प्रतिस्पर्धाको प्रतिशोध त्याग्नुुपर्ने नेता भण्डारीले बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ को पदस्थापना कार्यक्रम बुधबार डुम्रेमा सम्पन्न भएको छ ।

पदस्थापनका कार्यक्रममा तनहुँ क्षेत्र नं. १ का साथै क्षेत्र नं. १ अन्र्तगत १ नं. र २ नं. प्रदेशको प्रदेश कार्यसमितिको समेत पदस्थापना गरिएको थियो ।

कार्यक्रमा कांग्रेसका नेताहरूले पार्टीलाई एकढिक्का बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबरुद्ध प्रतिनिधि सभालाई तत्काल सुचारू गर्नुपर्ने बताएका छन् । उनले संसद बन्धक बनाएर एमालेले जनताको अधिकार कुण्ठित गरिरहेको बताए ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिस्टहरू झुटको खेती गर्न माहिर रहेको हुँदा झुटको खेती पछाडि नलाग्न आग्रह गरेका छन् ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई प्रतिशोधको भावनामा लिन नहुने समेत भट्टराईको भनाई रहेको थियो ।

कार्यक्रममा निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, उप–सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति चुडामणि खनाल, पूर्व जिल्ला सचिव विश्व वास्तोला, निवर्तमान क्षेत्र नं. १ सभापति उदयराज गौली, कृष्णप्रसाद गौतम, चिनु पोखरेल, लक्ष्मी आचार्य, रघुनाथ पौडेल लगायतले धारणा राखेका थिए ।

Published : Friday, 2022 January 14, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया