गगन–विश्व–शेखर-निधिहरू डरले थुरुरु भएर दुलाभित्र पसेका बेला खतिवडाले दिए बबाल अभिव्यक्ति

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा खतिवडाले सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको बताए ।

‘यसअघि नेकपालाई पाँच वर्षको लागि सरकारको नेतृत्व गर्ने अवसर थियो’, उनले भने, ‘उहाँहरू आफैबीच मारामार, कुटाकुट र हानाहान गर्ने अवस्था भयो, दुई तिहाईको मतलाई अपमान गर्नुभयो, उहाँहरुकै कारण अहिले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो ।’

उनले भने, ‘कांग्रेस सरकारमा आउनुपूर्व संवैधानिक निकाय र संसदीय पद्धति ध्वस्त थियो । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले ६ महिनाको अवधिमा दुई–दुई पटक संसद् विघटन गर्नुभयो । राष्ट्रपतिलाई दुरुपयोग गरिएको थियो ।’

‘अदालतले परमादेश दिएर अहिले नयाँ सरकार बनेको छ’, कांग्रेसका नेता खिवतडाले भने, ‘यसले अहिले मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याएको छ ।’

उनले हिजो संवैधानिक निकाय भर्तीको केन्द्र बनाइएको भएपनि अहिले देउवा सरकारले त्यसलाई सुधारेको बताएका छन् ।

‘अहिले गठबन्धनको सरकारले राम्रो काम ग¥यो । संविधानलाई सही ट्रयाकमा ल्याउने काम भएको छ’, उनले भने, ‘हिजो सरकारमा हुँदा ओलीले ०७५ सालको मंसिरमै रेलको टिकट किन्न भन्नुभयो । पानीजहाजको कार्यालय खोल्नुभयो । तीन महिनाभित्रै बन्द भयो । उहाँले बोल्दा धेरै हास्ने काम त गरियो । उहाँको काम हेर्दा निन्द्रा लाग्दैन थियो ।’

युवा नेता खतिवडाले आफूहरूको सरकारको नेतृत्वमा आउनेवित्तिकै पदमुक्त भएका सांसदहरूको लागि राष्ट्रियसभाको निर्वाचन गरेको पनि बताए ।

उनले भने, ‘अहिले फेरि सरकारले कार्यकाल सम्पन्न भएका राष्ट्रियसभाका सांसदहरूको निर्वाचनको तयारी गर्दैछ । यो निर्वाचन आगामी माघ १२ गते सम्पन्न हुँदैछ ।’

पूर्वसांसद समेत रहेका खतिवडाले देउवा सरकारले यसअघि ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन थालेको बताएका छन् ।

उनले भने, ‘हिजो केपी ओलीले १६५ वटा सडक एकैचोटी उद्घाटन गर्नुभयो । पैसा सैसा थिएन, एकैचोटी रणनीतिक सडक उद्घाटन गर्नुभयो ।’

‘मुलुकमा खोप थिएन । अहिले १ करोड खोप जम्मा छ । यो सरकार आएपछि यसले खोप, खोप खोपमात्रै भनेको छ’, खतिवडाले भने, ‘माघ १ गतेबाट राष्ट्रिय खोप अभियान सुरु गर्दैछ ।’

उनले भनेका छन्, ‘सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ, सोहीअनुसार काम गरिरहेको छ ।’

सरकारले मुटु, मिर्गौला फेल भएका र स्पाईनल–कर्ड ईन्जुरीका बिरामीलाई ५ हजार दिन थालिएको पनि उनको बताएका छन् ।

खतिवडाले सरकारले विदेश सम्बन्धमा पनि राम्रो काम गरेको बताएका छन् । उनले भने, ‘हिजोका दिनमा कनिका छरेरजस्तो बजेट दुरुपयोग गर्न दिँदैनौं । जनतालाई भ्रमको खेति गरिएको थियो, अहिले यो सरकारले सही ट्रयाकमा ल्याएको छ ।’

कांग्रेसका नेता खतिवडाले एमालेले संसद् चल्न नदिएकोमा आपत्ति जनाएका छन् ।

उनले भने, ‘चुनावबाट बनेको संसद् देखिनसक्नेले किन फेरि चुनावको कुरा गरेर भ्रमको खेती गर्नु ? एमालेका साथीहरू संसदको बैठकमा चाहीँ जानुहुन्छ, अनि अवरोध गर्नुहुन्छ । फेरि भक्ता चाहिँ खाइरहनुभएको छ ।’

‘संसदीय समितिमा माधव नेपालहरू बस्दासँगै बस्ने अनि संसदमा चाहिँ विरोध गर्ने काम गलत हो । उहाँहरूले सभामुखमाथि विषवमन गर्नुभयो ।’

उनले हिजोका दिनमा आफूहरूले प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका निर्वाह गरेको पनि स्मरण गराए ।

‘संसदमा प्रतिपक्षीको भूमिका हामीले राम्रोसँग खेल्यौं । अहिले एमालेले संसद् अवरोध गरिरहेको छ’, उनले भने, ‘हामी त प्रमुख प्रतिपक्षीसँग सल्लाह गरेर संसद् चलाउँछौं । प्रधानमन्त्री आँफै गएर प्रमुख प्रतिपक्षी दलको नेतालाई भेट्नुभएको छ ।’

‘मलाई विश्वास छ, ओलीले संसद् चलाउन सहयोग गर्नुहुन्छ’, उनले भने, ‘केपी ओलीले हिजो प्रधानमन्त्री हुँदा बोलाएको सर्वदलीय बैठकमा देउवा सहभागी हुनुभयो । अहिले ओली सर्वदलीय बैठकमा आउनुभएन ।’

‘प्रतिपक्षी सत्तापक्षसँग किन नमिल्ने ? सबै दल मिलौं । एमालेलाई पनि यही सरकारमा ल्याएर चुनावमा जान हामी तयार छौं’, उनले भने, ‘यो सरकार संसद्को पूरै अवधि चल्छ ।’

उनले नेपालको भूमिमा कसैले पनि बाटोघाटो बनाउनु गलत भएको भन्दै यसमा पार्टीको तर्फबाट घोर भर्त्सना गरेका छन् ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो । नक्सा ल्याउँदा पनि कांग्रेसले केन्द्रीय समितिको बैठक राखेर निर्णय गरेको छ’, खतिवडाले भने, ‘हामी कुटनीतकि रुपमा सम्वाद गरेर हाम्रो भूमि फिर्ता ल्याउँछौं ।’

‘यसको लागि अहिले पहल भैरहेको छ । परराष्ट्रमन्त्रीले पनि यसबारेमा पहल भैरहेको भन्नुभएको छ’, उनले भने, ‘राष्ट्रियताको सवालमा कांग्रेस कसैसँग पनि सम्झौता गर्दैन् ।’

नेपाली भूमि लिपुलेकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सडक बनाउने भनेर अभिव्यक्ति दिएका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला र विमलेन्द्र निधि बोल्न डराइरहेका बेला खतिवडाले भारतसँग कुटनीतिक पहल गरेर सो विवाद समाधान गर्ने गर्ने बताएका छन् ।

Published : Friday, 2022 January 14, 12:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया