‘ओली–बस्नेत’को दानापानीले समाप्त भए यी ‘अवसरवादी’ नेताहरू, बोलचाल बन्द

काठमाडौं । मन्त्री बन्न र अवसर लिन एमालेको पुच्छर बनेको मूल्य लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुकाएको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली, एमालेका नेता महेश बस्नेतको पुच्छर बनेर भक्तपुरको डोलेश्वर रिसोर्टमा दानापानी खाएको असर लोसपामा देखिएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले १७ वटा जिल्लाका अध्यक्ष र पर्यवेक्षकहरू एकलौटी रुपमा मनोनीत गरेपछि वरिष्ठ नेता राजेन्द्र महतो रिसाएर ‘आगो’ बनेका छन् । महतोले पछिल्ला दिनमा महतोको अनुहार पनि हेर्न चाहेका छैनन् ।

अध्यक्ष ठाकुरले संसदीय दलमा प्रमुख सचेतकमा उमाशंकर अरगरियालाई मनोनयन गरेपछि लोसपाभित्र खैलाबैला भएको थियो । ठाकुरले राष्ट्रिय सभाको टिकट पनि आफू निकटका श्याम सरदार र रुपा यादवलाई दिएका छन् । टिकट दिँदा र अरगरियालाई प्रमुख सचेतक बनाउँदा सल्लाह नगरेको भन्दै महतोसहितका नेताले आपत्ति जनाउँदै आएका छन् ।

महतोले ठाकुरको अनुहार हेर्नुपर्ने भएपछि बबरमहरलस्थित पार्टी मुख्यालय जानै छाडेको एक नेताले बताएका छन् । महतोले अनामनगरमा सम्पर्क कार्यालय नै स्थापना गरेका छन् । ठाकुरसँग रिसाएका अर्का नेता अनिलकुमार झालाई वरिष्ठ नेता महतोले आफ्नो समूहमा राखेका छन् ।

अध्यक्ष ठाकुरलाई शतरसिंह भण्डारीले साथ दिएका छन् । भण्डारी पनि ठाकुरसँग असन्तुष्ट थिए । अहिले आएर ठाकुर र भण्डारीको कुरा मिल्न थालेको छ ।

नेता महतोको उक्साहटमा लागेर ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई फुटाएर तत्कालीन प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएका थिए । त्यसपछि ठाकुर, महतो, झा र भण्डारीको राजनीति धरापमा पर्न शुरु भएको हो । उनीहरूको मन्त्री पद पनि धेरै दिन टिक्न सकेन ।

तर, जसपा फुटाउने ओलीको योजना भने पूरा भएको थियो । मधेश केन्द्रित दलका नेताहरूलाई ओलीले फुटाएर आफ्नो स्वार्थ पूरा गरेका छन् ।

समयमा ठाकुरले बिचार गर्न नसक्दा समस्या भएको हो । ठाकुर आफ्नो बुद्धिले भन्दा पनि अरु विदेशी तत्वको सरसल्लाहमा हिँड्ने गरेका कारण ठाउँ–ठाउँमा ठक्कर खाने गरेको चर्चा छ ।

ठाकुर निकै अवसरवादी र साम्प्रदायिक कुरा गर्ने नेताका रुपमा परिचित छन् । महतो झन् अवसरवादी नेताका रुपमा चिनिन्छन् । मन्त्री बन्न र पैसा कमाउन महतोले सबै कुरा त्याग गर्ने गरेका छन् । झा र भण्डारी पनि अवसरवादी नेता हुन् । उनीहरूले पार्टी फुटाएर लोसपा बनाएपछि केन्द्रीय समितिको बैठक पनि राख्न सकेका छैनन् । यी चार जना शीर्ष नेताहरूका बीच राम्रोसँग बोलचाल पनि छैन ।

Published : Wednesday, 2022 January 12, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया