दाङमा एमालेका नेताद्वारा सहकारीको ५ करोड गायब, २ पूर्वअध्यक्ष जेल चलान

लमही । दाङको ‘देउखुरी बचत तथा ऋण सहकारी संस्था’का दुई जना पूर्वअध्यक्षहरू ५ करोड रकम हिनामिना गरेको आरोपमा कारागार चलान भएका छन् ।

सहकारीको रकम हिनामिना मुद्दामा पूर्वअध्यक्षद्वय किरण भण्डारी र रुक्माङगत ज्ञवाली कारागार चलान भएका हुन् । पूर्वअध्यक्ष भण्डारी एमालेका नेता हुन् । भण्डारीले तत्कालीन लालमटिया गाविस–८ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सहकारीको मुख्यालय राप्ती गाउँपालिका—५ सिसहनियाँमा रहेको छ ।

पुस २५ गते आइतबार भण्डारी र ज्ञवाली आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिएका थिए । थुनछेक बहस भएको थियो ।

अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाको इजलासले पूर्वअध्यक्षद्वय भण्डारी र ज्ञवालीलाई जनही ५०/५० लाख रुपियाँ धरौटी माग गरेको थियो । भण्डारी र ज्ञवालीले धरौटी बुझाउन नसकेपछि तत्कालका लागि पुर्पक्षका लागि भण्डारी र ज्ञवालीलाई कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिएका छन् ।

सोही सहकारीको रकम हिनामिना मुद्दामा संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल भने धरौटी बुझाएर छुटेका थिए ।

पूर्वअध्यक्षद्वय भण्डारी र ज्ञवालीसँगै पौडेल पनि आफै अदालतमा उपस्थित भएर बयान दिएका थिए । अदालतले माग गरेको २५ लाख रुपियाँ धरौटी पौडेलले बुझाएका छन् ।

भण्डारी र ज्ञवाली तत्कालीन महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बनेका थिए । पौडेल पनि सोही सहकारीका कोषाध्यक्ष थिए ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यसअघि अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

तीमध्ये तीन जना कर्मचारीहरू प्रताप चौधरी, विकास न्यौपाने र मनीराम भण्डारी उच्च अदालत तुलसीपुरको आदेशमा धरौटीमा रिहा भएका छन् ।

अदालतले सहकारीका २५ जनालाई पक्राउ गर्न पक्राउ पुर्जी नै जारी गरेको थियोे ।

Published : Monday, 2022 January 10, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया