पुस २७ बारे कांग्रेस नेता भण्डारीको अपीलले नेपाली जनताको शान बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले पुस २७ गतेलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा भव्यताका साथ मनाउन सरकारसँग अनुरोध गरेका छन् ।

सोमबार नेता भण्डारीले विज्ञप्ति जारी गरेर पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पुस २७ गतेलाई भव्यताका साथ मनाउन अपील गरेका हुन् ।

‘पुस २७ अर्थात पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन यसलाई राष्ट्रियपर्वका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछु’, नेता भण्डारीले भनेका छन् ।

‘नेपाली हुनुमा जुन गौरव छ । हाम्रा पुर्खाको रगत र पसिनाले सिंचित यस भूमिको गौरवशाली इतिहास हाम्रा लागि प्राणभन्दा प्यारो छ’, भण्डारीले भनेका छन्, ‘त्यही भूमिका एकीकरण कर्ता तथा राष्ट्रिय एकताका प्रतीक बहामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती भब्यताका साथ मनाउनु हामी सबैको अधिकार र कर्तव्य हो ।’

राज्यले पृथ्वीजयन्तीलाई प्रवर्द्धन र सम्मान गर्नु आवश्यक रहेको बताएका छन् ।

‘यस घडीमा सबै नेपालीमा एकता र सद्भावको विकास होस् र राष्ट्रियताको संवर्द्धनमा हामी सबै एकजुट हुन सकौं भन्ने शुभकामना प्रदान गर्दै यस पर्वलाई भव्य रुपमा मनाउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आब्हन गर्दछु’, पूर्वमन्त्री भण्डारीले भनेका छन् ।

कांग्रेसका लोकप्रिय नेता भण्डारीले नेपाल एकीकरणका सुत्रधार राष्ट्र निर्माताभन्दै पृथ्वीनारायण शाहको जन्मदिनलाई स्मरण गरेका छन् ।

‘नेपाली भएर बाँच्न पाउने गौरवको प्रत्याभूतिगर्ने महान, दुरदर्शी र सुरवीर पुरुषको जन्मदिन सम्पूर्ण नेपालीका लागि हर्षो उल्लासको क्षण’, उनले भने, ‘३०० वर्ष पहिला नेपालको गोरखा जिल्लामा जन्मेर १९ वर्षको कलिलो उमेरमा गद्धी सम्हालेका पृथ्वीनारायण शाहको अकल्पनीय प्रयासले यो मुलुक निर्माण भएको हो ।’

‘यस्ता महान पुरुषको जन्मदिन तथा ३०० औं पृथ्वीजयन्ती सम्झदा श्रद्धाले शिर निहुरिन्छ र हर्षले विभोर हुन पुगिन्छ’, उनले भने, ‘अन्य राज्यका शासक जस्तै राजगद्धीको सुख सयलमा रमेर जीवन बिताएको भए सायद आज हामी नेपाली भएको गर्व गर्न पाउने थिएनौ होला ।’

‘व्यक्तिगत लाभका लागि राष्ट्रनिर्माताको योगदानलाई अनुचित व्याख्यागर्ने र नेपाली इतिहास बग्यांउनेतर्फ एकथरी शक्ति निरन्तर लाग्दै आएको छ’, कांग्रेस नेता भण्डारीले चेतावनी दिँदै भनेका छन्, ‘अरुको इशारामा होस् वा क्षणिक लाभका लागि होस् पराइबाट परिचालित शक्तिले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गर्दै आएको छ ।’

उनले भने, ‘राष्ट्रनिर्माताको सम्मान र सम्झनामा आयोजना गरिने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको छ । हामीलाई चेतना हुन जरुरी छ इतिहास अत्यन्त निर्मम हुन्छ यसलाई मेटाउन खोज्ने शक्ति स्वयं मेटिने गर्दछ ।’

उनले प्रश्न गर्दै भनेका छन्, ‘आज हामीलाई विशाल नेपाल दिने महानपुरुष पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कारण कठिन भएको छ ? राष्ट्रिय एकता दिवस मनाउन हामी किन हिच्किचाउदै छौं ? जसले सबै जातजाति र धर्मका बीचमा एकता कायम गरायो उसैको सम्मान गर्न किन डराएका छौं ? हामीले आज आफैलाई प्रश्न गर्नुपर्ने समय आएको छ । हाम्रो विवेकको परीक्षणगर्ने घडीआएको छ । अहिले कमजोर बन्दै गएको राष्ट्रिय स्वाधीनता र एकताको मूल कारण यस्तै अपरिपक्व निर्णयहरु हुन भन्नेमा हामी सचेत हुनै पर्दछ ।’

Published : Monday, 2022 January 10, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया