गण्डकी कांग्रेसमा रामचन्द्रले शशांकलाई चकित बनाए, गोपालमानले ‘रक्सी व्यापारी’ जिताए

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । आइतबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार सभापति पदमा शर्माले ६१२ मत ल्याएर विजयी भएका हुन् । सभापतिमा विजयी भएका शर्मा नेता रामचन्द्र पौडेल समूहका हुन् ।

सभापतिका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशी पराजित भएका छन् । जोशीले ५२८ मत पाएका थिए । नेता जोशी सभापति शेरबहादुर देउवा निकटका हुन् ।

उप–सभापतिमा कल्पना तिवारी ६२४ मतसहित निर्वाचित भएकी छिन् । सोही पदमा मेखलाल श्रेष्ठले ५५६ मतसहित विजयी भएका छन् । उप–सभापतिमा निर्वाचित भएका मेखलाल नेता गोपालमान श्रेष्ठका भतिजा हुन् । मेखलाल गण्डकी प्रदेशको मन्त्री पनि छन् ।

गृहजिल्ला स्याङ्जामा पत्तासाफ भएका गोपालमानले भतिजालाई भने जिताउन सफल भएका छन् । उप–सभापतिमा जितेका मेखलाल रक्सीका व्यापारी पनि हुन् ।

महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ र विष्णुप्रसाद लामिछाने ५६४ मत ल्याएर निर्वाचित भएका छन् ।

सह–महामन्त्रीमा कोपिला रानाभाट ५९२, रमेशकुमार पाण्डे ६०५ र रामचन्द्र जोशी ५७० मत ल्याएर विजयी भएका छन् । अधिकांश पद सभापति शर्मा निकटकाले जितेका छन् ।

गण्डकी प्रदेशमा देउवा समूहका जोशीले सभापतिमा जित्ने थिए । तर, नेता गोपालमान श्रेष्ठले स्याङजा जिल्लामा बिगारेका कारण पराजय भोग्नु परेको आरोप लागेको छ । स्याङजा कांग्रेसमा गोपालमानले बिगारेर ध्वस्त बनाएका छन् ।

सभापतिमा शर्माले जित्नुमा नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाबीचको आन्तरिक द्वन्द्व पनि रहेको छ । कोइरालाले गण्डकी प्रदेशको सभापतिमा महेन्द्रध्वज जिसीलाई उम्मेदवार बनाउन खोजेका थिए । नेता पौडेलले जबरजस्ती शर्मालाई उम्मेदवार बनाएर जिताएका छन् ।

गण्डकी प्रदेशमा महामन्त्री कोइरालालाई नेता पौडेलले औकात देखाइदिएका छन् । शर्माप्रति कोइराला धेरै सकारात्मक थिएनन् ।

नवलपुर जिल्लाको कांग्रेसको अधिवेशनमा देउवा र कोइराला समूह मिलेर प्रतिस्पर्धा गर्दा पनि नेता पौडेल निकटको समूहले जितेको थियो ।

गण्डकी प्रदेशमा सभापति देउवा समूह पहिलाभन्दा निकै सशक्त भएर आएको छ । गोपालमानले लफडा नगरेको भए जोशीले जित्ने पक्का थियो ।

Published : Sunday, 2021 December 5, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया