अर्थमन्त्रीले नेपाल र भारतबारे व्यक्त विचारलाई पूर्ण समर्थन छ : कांग्रेस सांसद शाह
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिको बचाउ गर्दै नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् प्रेस नोट जारी गरेर कांग्रेस सांसद शाहले भने, ‘नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध तथा सहकार्यको आवश्यकताबारे व्यक्त गर्नुभएको विचारलाई म पूर्ण समर्थन गर्दछु ।’
‘एक अर्थशास्त्रीका रूपमा म पनि विश्वास गर्छु कि नेपालको अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउन भारतको आर्थिक विकास, बजार र लगानीसँग नेपालको अर्थतन्त्रलाई जोड्नु अत्यन्त आवश्यक छ,’ कांग्रेस सांसद शाहले भने ।
‘दुर्भाग्यवश, नेपालमा कथित राष्ट्रवादका नाममा भारतसँग सहकार्यको पक्षमा बोल्ने व्यक्तिलाई नै राष्ट्रविरोधीको आरोप लगाउने प्रवृत्ति बढ्दै गएको छ,’ उनले भने ।
‘भारतसँगको आर्थिक सहकार्यको कुरा गर्नु राष्ट्रविरोध होइन, बरु नेपालको समृद्धिको पक्षमा उभिनु हो,’ उपनेता शाहले भने ।
‘नेपालमा भूकम्प, प्राकृतिक विपत्ति तथा अन्य सङ्कटका बेला भारतले नेपाली जनता र नेपाल सरकारलाई गरेको सहयोग हामीले बिर्सनु हुँदैन,’ उनले भने ।
‘भारतले विभिन्न कठिन परिस्थितिमा देखाएको सहयोग र सद्भाव हाम्रो साझा सम्बन्धको महत्वपूर्ण पक्ष हो,’ कांग्रेस सांसद शाहले भने ।
‘आज भारतको विकासको गति, पूर्वाधार निर्माण, औद्योगिक विस्तार र आर्थिक प्रगतिलाई हेर्नुहोस्,’ उनले भने, ‘एक समय नेपाल र भारतको विकासस्तरबीचको दूरी आजको जस्तो थिएन ।’
‘अहिले भारतले हासिल गरिरहेको आर्थिक प्रगतिबाट नेपालले पनि लाभ लिन सक्ने अवसरहरू खोज्नुपर्छ,’ सांसद शाहले भने ।
‘नेपालको समृद्धि भारतविरोधी भावना फैलाएर होइन, भारतसँग सम्मानजनक सहकार्य, व्यापार विस्तार, लगानी आकर्षण र आर्थिक एकीकरणमार्फत सम्भव छ,’ सांसद शाहले भने ।
‘फेसबुकका तथाकथित अर्थशास्त्रीहरूले जनतालाई भ्रमित पार्नुभन्दा नेपालको वास्तविक आर्थिक हितबारे बहस गर्न आवश्यक छ,’ उनले भने, ‘राष्ट्रवाद भनेको छिमेकीसँग शत्रुता बढाउनु होइन, आफ्नो देशको हितलाई केन्द्रमा राखेर व्यावहारिक निर्णय लिनु हो ।’
‘भारतको विकाससँग नेपालको अर्थतन्त्रलाई जोड्न सक्यौँ भने मात्रै नेपालको समृद्धिको गति तीव्र बनाउन सकिन्छ,’ उनले भने, ‘यही यथार्थलाई स्वीकार गर्नु आजको आवश्यकता हो ।’
अर्थमन्त्री वाग्लेले भारत भएको एक कार्यक्रममा भारतलाई गाली गरेर नेपालमा राष्ट्रवादको राजनीति नचल्ने बताएपछि विरोध भएको बेला कांग्रेस सांसद शाहले अर्थमन्त्री वाग्लेको बचाउमा बोलेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया