नगरप्रमुखसहित सात जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध १ करोड ६० लाखभन्दा धेरै रकम भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले साहुसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले प्रेस विज्ञप्तिमार्फत् जनाएका छन् ।

नगरपालिकामा हाटबजार ठेक्कामा अनियमितता गरी १ करोड ६० लाख रुपियाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पु¥याएको अभियोगमा अख्तियारले विशेश अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गर्दा १ करोड ६० लाख ४६ हजार ३४४ रुपियाँ १० सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा गोलबजार नगरपालिकाले वडा नम्बर ६ र ७ मा पशु, बाख्रा तथा गुदरी हाटबजार सञ्चालनबापतको राजस्व संकलन गर्न वडा नम्बर ८ का ठेकेदार वीरेन्द्रकुमार यादवलाई अमानतमा जिम्मेवारी दिएको थियो ।

नगरपालिकाको २०७८ साउन ४ गतेको कार्यपालिका बैठकले बुझाउनुपर्ने राजस्वमा २७ लाख ३४ हजार ९१३ रुपियाँ छुट दिने निर्णय गरेको थियो । स्थानीय तहमा कर छुट दिनुपर्ने बाध्यात्मक अवस्था भएमा नगरसभाबाट मात्रै छुट दिन सकिने व्यवस्था रहे पनि कार्यपालिकाले नै छुट दिने निर्णय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

२०७८ साउन १४ गतेको बैठकबाट प्रतिस्पर्धाविना सोझै अमानतमा ठेकेदारलाई जिम्मेवारी दिने निर्णय गरिएको थियो । ठेकेदारबाट असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने रकमसमेत असुल नगरिएको अख्तियारको आरोप छ ।

अख्तियारले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशमकुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।

Published : Tuesday, 2026 October 27, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया