नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन तयारी तीव्र, देउवा र डा.कोइरालाले सम्बोधन गर्ने
न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय अधिवेशन आगामी १५ नोभेम्बर २०२६ मा भव्य रूपमा सम्पन्न हुने भएको छ ।
आगामी मंसिर महिनामा काठमाडौंमा हुन गइरहेको नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको पूर्वसन्ध्यामा हुन लागेको अधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
अधिवेशनको मिति नजिकिएसँगै अमेरिकामा रहेका सबै राज्य शाखाहरू (च्याप्टरहरू) मा सांगठनिक सरगर्मी र कार्यक्रमहरूलाई तीव्र पारिएको जानकारी जनसम्पर्क समिति अमेरिकाका संयोजक प्रमोद सिटौलाले दिएका छन् ।
संयोजक सिटौलाका अनुसार १५ नोभेम्बरमा हुने ऐतिहासिक केन्द्रीय अधिवेशनबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि अमेरिका क्षेत्रबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको छनोट गरिनेछ ।
सोही मितिमा संयुक्त राज्य अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्वको समेत चयन गरिने तयारी छ ।
अमेरिकामा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता र आम प्रवासी नेपालीहरूको उत्साहजनक सहभागिता रहनेछ । तेस्रो अधिवेशनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र १५औँ महाधिवेशन तयारी समितिका संयोजक एवं केन्द्रीय नेता प्रा.डा.शशांक कोइरालालगायतका उच्च तहका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भइरहेको संयोजक सिटौलाले बताए ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई प्रवासबाट बलियो साथ र सहयोग पु¥याउने उद्देश्यसहित आयोजना हुन लागेको यस तेस्रो केन्द्रीय अधिवेशनलाई ऐतिहासिक रूपमा सफल पार्न अमेरिकाभर रहेका च्याप्टरहरू र सम्पूर्ण क्रियाशील सदस्यहरू पूर्ण रूपमा परिचालित भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया