देउवालाई देखेपछि खुसीले ओली भुतुक्कै, कांग्रेसको संस्कार देखेर कम्युनिस्टहरू लाजले निथ्रुक्क

भरतपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थिति बसाल्ने काममा एमालेले साथ दिनुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा शुक्रबार एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले संसदभित्र र बाहिर रहेका दलहरूसँग सहकार्य गर्न चाहेको बताए ।

‘ओलीजीलगायत नेताहरूसँग हामी पनि जेलमा सँगै बसेको हो’, देउवाले भने, ‘सबै कुरा भोगेको हो ।’

उनले भने, ‘हिजो भोगेका कुरा ध्यानमा राखेर भोलिका दिनमा जनतालाई दुःख नहोस् भनेर काम गर्नुपर्दछ । एमालेले थिति बसाल्ने काममा साथ दिनुपर्दछ ।’

उनले सबै मिलेर ल्याएको संविधानलाई संस्थागत र कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक दलमा रहेको बताए ।

एमालेलाई जिम्मेवार राजनीतिक दलका रूपमा अगाडि बढ्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

देउवाले देश र जनतासँग जोडिएका मुद्दाहरूमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताए ।

उनले संविधानसम्मत रूपमा हरेक समयस्याको समाधान निकाल्नुपर्ने बताए ।

लोकतन्त्रका लागि एमाले अध्यक्ष केपी ओलीसँगै जेलजीवन बिताएको बताउँदै उनले आफूहरू जेलमेट भएको बताए ।

सबैको सहयोगले कोरोनाविरुद्धको खोप अभियानको लक्ष्य हासिल हुँदै गएको उनले बताए ।

कोरोनाको प्रभाव न्यूनीकरण हुँदै गएको र आर्थिक स्थितिमा सुधार आउँदै गएको देउवाले बताएका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच चार महिनापछि एउटै मञ्चमा देखिएका छन् ।

ओलीको अहँकारलाई मत्थर बनाउन र राजनीतिक संस्कार देखाउन देउवा आफै एमालेको महाधिवेशनमा पुगेर सम्बोधन गरेका छन् । प्रधानमन्त्री देउवालाई देखेपछि ओली खुसी भएका थिए ।

Published : Friday, 2021 November 26, 3:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया