ललितपुर कांग्रेसमा अन्तरघाती नेताद्वारा सभापतिमा उम्मेदवारी घोषणा, मदन अमात्यको समर्थन

जवलाखेल । नेपाली कांग्रेस ललितपुरमा जिल्ला सभापतिका लागि मदनबहादुर अमात्य समूहले ‘अन्तरघाती’ नेता रामकृष्ण चित्रकारलाई सभापतिको उम्मेदवार बनाएको छ ।

ललितपुरको कुमारीपाटीमा अमात्य समूहले बिहीबार साँझ हतार–हतारमा कार्यक्रम गरेर चित्रकारलाई सभापतिको उम्मेदवार बनाएको हो ।

बिगतमा चित्रकार नेता प्रकाशमान सिंह निकटका थिए । सिंहले लात हानेपछि घरनघाटको बनेका थिए । चित्रकारले विमलेन्द्र निधिसँग पनि निकटता बनाउन खोजेका छन् ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चित्रकारले कांग्रेसबाट उम्मेदवार बनेका नेताहरूलाई हराउन अन्तरघात गरेका थिए । चित्रकारलाई कारबाहीका लागि सिफारिस पनि भएको थियो । अत्यन्तै चतुर चित्रकारले पछि ललितपुर जिल्ला कार्यसमितिबाट सभापति अमात्यले माफी दिएका थिए । किन र कसरी अन्तरघाती नेता चित्रकारले माफी पाए त्यो कुरा सभापति अमात्यलाई मात्रै थाहा होला ।

अमात्यले आफूलाई सभापति शेरबहादुर देउवा निकटको बताउने गरेका छन् । अमात्य समूहबाट सभापतिमा अन्तरघाती नेता चित्रकार छन् । उप–सभापतिमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र खोमप्रसाद घिमिरे छन् ।

अमात्यको समूहलाई पूर्व सांसद चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको समर्थन छ ।

उप–सभापतिका उम्मेदवार गजेन्द्र महर्जनले आफूहरू देउवा समर्थक रहेको दाबी गरेका छन् । ललितपुरमा उदयशम्शेर राणा, मीनकृष्ण महर्जनसहितका नेताहरूसँग परामर्श नगरेर हतारमा किन उम्मेदवारी घोषणा गर्नुभयो भन्ने जिज्ञासामा गजेन्द्र महर्जनले भने, ‘त्यस्तो केही पनि छैन । केन्द्रमा हाम्रो समूह एउटै हो । जिल्लामा रामकृष्ण चित्रकारसँग मिलेका छौँ । उहाँहरूसँग सल्लाह गर्ने आवश्यक्ता ठानेनौँ ।’

ललितपुर कांग्रेसका बहालवाला सभापति अमात्य आफ्नै जिल्लामा कमजोर छन् । अमात्यको अहँकारले गर्दा वडा, पालिका, प्रदेश क्षेत्र र प्रतिनिधि सभा क्षेत्रहरूमा बढारिएका छन् ।

अमात्यले आफ्ना आलोचकहरूलाई रुचाउँदैनन् । सोही कारण ललितपुरमा रहेका देउवा समूहका दीग्गज नेताहरूलाई छलेर विमलेन्द्र निधि निकट हुन खोजेका अन्तरघाती नेता रामकृष्ण ताम्राकारलाई सभापतिको उम्मेदवार बनाएका छन् ।

Published : Thursday, 2021 November 25, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया