स्व.खुमबहादुरका छोराले पाए लोकप्रिय मत, कांग्रेसका नेता कार्यकर्ताले दिए अपार माया

लमही । नेपाली कांग्रेसका युवा नेता अनुराग खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।

दाङको निर्वाचन क्षेत्र नं. १ मा खुल्ला (प्रत्यक्ष) तर्फबाट खड्काले सबैभन्दा धेरै मत प्राप्त गरेर विजयी भएका हुन् । खड्का जम्मा २८ वर्षीय छन् । बुधबार प्राप्त अन्तिम नतिजामा खड्काले सबैभन्दा बढी ४९७ मत पाएको निर्वाचत समितिले जनाएको छ ।

खुल्लातर्फ २१ जना प्रतिस्पर्धीमध्ये खड्काको धेरै मत आएको थियो । क्षेत्र नं. १ मा ६९४ मतदातामध्ये ६८५ जनाले मतदान गरेका थिए ।

युवा नेता खड्का कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा हुन् ।

महाधिवेशन प्रतिनिधिमा आफूलाई अग्रज नेता कार्यकर्ता, प्रतिनिधिहरूले देखाएको माया एवम् सद्भावप्रति खुसी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । उनले प्रतिनिधिहरूलाई धन्यावाद दिएका छन् ।

युवा नेता खड्काले भने, ‘मलाई दाङ कांग्रेसका अग्रज नेताहरू, प्रतिनिधिहरू र शुभेच्छुकहरूले दिनुभएको मायाप्रति आभार प्रकट गर्दछु । उहाँहरूको यो ऋणलाई समय आएपछि तिर्नेछु । अग्रजको सम्मान गरेर अगाडि बढ्नेछु ।’

नेता खड्काले कांग्रेसको १४औँ महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा अग्रज र शुभेच्छुकहरूसँगको परामर्शमा निर्णय लिने बताएका छन् । उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पनि सक्ने संकेत गरेका छन् ।

यसैबीच, क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे शानदार मतसहित निर्वाचित भएका छन् । पाण्डेकै प्यानलले क्लिन स्विप गरेको छ ।

पाण्डेसँग सभापतिका उम्मेदवार सर्बजित डिसी पराजित भएका छन् । सभापतिमा निर्वाचित पाण्डे सभापति शेरबहादुर देउवा निकटका हुन् ।

महाधिवेशन प्रतिनिधिमा नेताहरू जानकीलाल बस्नेत, कर्णबहादुर बुढाथोकी, किरणकिशोर घिमिरे, कृष्णकिशोर घिमिरे, मधुप्रसाद न्यौपाने, प्रदीपराज शर्मा, मोहन गिरी, हरिप्रसाद भुषाल, चन्द्रबहादुर घर्ती निर्वाचित भएका छन् ।

खिमादेवी रिजाल, गिरिजादेवी न्यौपाने, धनपतिदेवी यादब, विमला नेपाली, रेशमबहादुर बुढा मगर, अनुराग यादब महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

खिमाकुमारी अधिकारी, अनुपकुमार थापा विजयी, ताराप्रसाद नेपाली, यशोदा चौधरी, सशीला चौधरी, बिलोचन चौधरी, हीरालाल चौधरी, गुलाम महमद जागा मुसलमान महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

Published : Wednesday, 2021 November 24, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया