देउवा र शशांकबीच बन्यो शक्तिशाली गठबन्धन, माहोल पूरै चेञ्ज

नवलपुर । नवलपुर जिल्लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला मिलेर गठबन्धन बनाएका छन् ।

नवलपुरमा नेता रामचन्द्र पौडेल निकटका नेताहरूले अलग समूह बनाएर कांग्रेसको महाधिवेशनमा उत्रिएपछि देउवा–कोइराला समूहको पनि अलग गठबन्धन बनेको हो ।

देशभरि देउवाविरुद्ध पौडेल र कोइरालाको अलग समूह बनेका बेला नवलपुरमा भने पौडेलविरुद्ध देउवा र कोइरालाको गठबन्धन बनेर प्रतिस्पर्धामा उत्रिएका छन् ।

देउवा–कोइराला र पौडेल समूहबीच प्यानलै बनाएर क्षेत्रीय सभापतिका लागि चुनाव भएको छ ।

नवलपुर क्षेत्र नम्बर २ ‘क’का सांसद तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवार विष्णु लामिछानेले देउवा–कोइराला र पौडेल समूहबीच प्रतिस्पर्धा भइरहेको जानकारी दिएका छन् । उनले निर्वाचनको नतिजा बुधबार बिहानसम्म आइपुग्ने बताएका छन् ।

नवलपुर क्षेत्र नम्बर १ को सभापतिका लागि देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली नेतृत्वको समूह छ ।

पौडेल समूहबाट अमृत भट्टचन सभापतिको उम्मेदवार बनेका छन् ।

क्षेत्र नम्बर २ को सभापतिका लागि देउवा–कोइराला प्यानलका जगतबहादुर कार्की र पौडेल प्यानलका सूर्य गुरूङबीच प्रतिस्पर्धा चलिरहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि नवलपुर क्षेत्र नम्बर १ को ‘क’बाट प्रदेशसभा सदस्य चुनाव जितेका हुन् ।

मुख्यमन्त्री पोखरेल देउवा–कोइरालाको प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् ।

क्षेत्रीय महाधिवेशन मात्रै होइन, जिल्लाको पदाधिकारीमा पनि यही प्यानल बन्ने नेताहरूले बताएका छन् ।

मदनभक्त अधिकारीले देउवा–कोइराला समूहबाट जिल्ला सभापतिको दाबी गरिरहेका छन् । महेन्द्रध्वज जिसीले पौडेल समूहबाट जिल्ला सभापतिमा दाबी गरिरहेका छन् ।

Published : Tuesday, 2021 November 23, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया