नेविसंघकी ‘टीके’ महामन्त्री कुँवरको लज्जास्पद हार

तानेसन । नेपाल विद्यार्थी संघ (नेविसंघ)की महामन्त्री एवम् नेपाली कांग्रेसकी युवा नेतृ महेश्वरी कुँवर महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् ।

सोमबार भएको क्षेत्रीय अधिवेशनमा महामन्त्री कुँवर पाल्पा– २ बाट महाधिवेशन प्रतिनिधि पराजित भएकी हुन् ।

खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार कुँवरले ३१४ मत ल्याएको निर्वाचन समिातिले जनाएको छ ।

सभापति शेरबहादुर देउवा समूहबाट कुँवरले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी थिइन् ।

नेविसंघको भागबण्डाको राजनीतिमा कुँवरले महामन्त्री पद पाएकी थिइन् । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएर कुँवरले नेविसंघको महामन्त्री पदको गरिमा बचाउन सकिनन् ।

पद्मकन्या क्याम्पसकी स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) उप–सभापति भइसकेकी कुँवर यसअघि नेविसंघको सह–महामन्त्री थिइन् ।

नेविसंघका पूर्व महामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

थापा काठमाडौं–७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । २५० मत खसेकोमा थापाले जम्मा ३६ मत पाए ।

सुनसरीबाट क्रियाशील सदस्यता काठमाडौंमा सारेका थापा सभापति देउवा निकटका हुन् ।

यसअघि नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना सिन्धुपाल्चोकमा गाउँमै पराजित भएका थिए । तिमिल्सिनाले धेरै चुरीफुरी गर्दा गाउँमै पराजय भोग्नुपरेको थियो ।

नेविसंघकी बहालवाला महामन्त्री कुँवरले पनि नराम्रोसँग पराजय भोग्नुपरेको छ । पाल्पामा कुँवरले जमानत जफ्त गराएको भनेर हाँसोठट्टा शुरु भएको छ । पराजित भएपछि कुँवरले ‘टीके’ महामन्त्री पदबाट राजीनामा दिन्छिन् वा दिँदैनिन् हेर्न बाँकी छ ।

Published : Tuesday, 2021 November 23, 2:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया