काठमाडौं– ३ मा कांग्रेसको निर्वाचन रोकियो, ‘हरुवा ग्याङ’को कीर्ते हर्कत

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनमा ‘हरुवा’को ग्याङले लफडा गरेपछि अधिवेशन मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सभापति शेरबहादुर देउवा समूहबाट सभापतिका उम्मेदवार दीपेन लामा र नेता प्रकाशमान सिंहको तर्फबाट सन्तोष चालिसेले प्रतिस्पर्धा गरेका छन् ।

अधिवेशनमा करीव ५५ मत खसेको थियो । सभापतिका उम्मेदवार लामाले डुप्लिकेट मतपत्र देखेपछि सबैको सहमतिमा अधिवेशनको निर्वाचन प्रक्रिया मंगलबार बिहान ८ बजेसम्म स्थगित गरिएको बताए ।

प्रकाशमान सिंहको समूहले निर्वाचन अधिकृतलाई प्रभावमा पारेर डप्लिकेट मतपत्रहरू बाहिरै धमाधम टिक लगाउन थालेपछि देउवा समूहले विरोध जनाएको थियो ।

विरोध भएपछि मंगलबार बिहान ८ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित भएको छ । बिहान ८ बजे बैठक बसेर कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय हुने सभापतिका उम्मेदवार लामाले जानकारी दिए । उनले पार्टीको आन्तरिक निर्वाचन भएकाले सहमतिमा अगाडि बढ्ने बताएका छन् ।

देउवा समूहबाट सभापतिमा उम्मेदवार बनेका लामा वडा नं. ६ का वडाध्यक्ष पनि हुन् ।

प्रकाशमन सिंहको समूहबाट सभापतिको उम्मेदवार बनेका चालिसे क्षेत्रीय सभापति र गोकर्णेश्वर नगरपालिकाका मेयर पनि हुन् ।

चालिसेले दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति र मेयर जस्तो जिम्मेवार पदमा बसेर पराजित हुने डरले चालिसेले भाँडभैलो मच्चाउन खोजेपछि हर्कत बाहिर आएको छ ।

चालिसेको हर्कतलाई कांग्रेसका कार्यकर्ताहरूले नछाड्ने चेतावनी दिएका छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धालाई सहज रुपमा लिनुपर्नेमा चालिसेको समूहले मतपत्र बाहिर लगेर आफू खुसी टिक लगाउन खोजेपछि काठमाडौंमा प्रकाशमान सिंहको हर्कतको भण्डाफोर भएको छ ।

Published : Monday, 2021 November 22, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया