कांग्रेस नेतृत्वको सरकारले ‘शक्तिशाली’ जबराको ‘प्वाँख काटिदियो’

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेर आन्दोलन चलिरहेका बेला गोला प्रक्रियाबाट पेसी तोक्ने नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)को निर्णयानुसार गोला प्रक्रियाबाट पेसी व्यवस्थापनका लागि पारित नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ ।

सर्वोच्चमा अबदेखि गोलाप्रथाबाट इजलास र मुद्दा तोक्ने प्रणाली लागू गर्ने बाटो खुला भएको छ ।

बिहीबार बसेको प्रधानन्यायाधीश जबराबाहेकका १८ न्यायाधीशको बैठकले गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ पारित गरेको थियो ।

प्रधानन्यायाधीश जबराले आफूले चाहेको न्यायाधीशलाई मुद्दा तोक्न पाउनेछैनन् ।

प्रधानन्यायाधीशले अधिकारको दुरुपयोग गरेर भ्रष्टाचारलाई बढावा दिएको, बिचौलियाको प्रवेश गराएको र न्यायिक अराजकता फैलाएको गम्भीर आरोपसहित इजलासभित्र न्यायाधीश र बाहिर कानून व्यवसायीहरू आन्दोलनमा छन् । प्रत्येक न्यायाधीशले आफैँले गोला तानेर इजलास र मुद्दा छान्नेछन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले कार्यविधि निर्देशिकालाई राजपत्रमार्फत सार्वजनिक गरेर न्यायालयभित्रको सुधारको प्रयास गरेको छ ।

कांग्रेसका नेता समेत रहेका कानून, न्याया तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले सर्वोच्च अदालतभित्रको लफडा नजिकबाट हेर्दै आएका थिए । बडूकै निर्देशनपछि निर्देशिका राजपत्रमा प्रकाशित भएको छ ।

Published : Monday, 2021 November 22, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया